सुनसरी घटनाको छानबिन समितिमा २ सदस्य थप

सुनसरी घटनाको छानबिन समितिमा २ सदस्य थप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा २ सदस्य थप गरेको छ ।

गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी नायब उपरीक्षक मोहनसिंह धामीलाई सदस्यका रूपमा नियुक्त गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

सरकारले घटनाका सम्बन्धमा छानबिन गर्न गत सोमबार गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । मन्त्रालयले समितिलाई घटनाको प्रतिवेदन यथाशीघ्र बुझाउन निर्देशन समेत दिइएको जनाएको छ ।

‘मन्त्रालयले सुनसरी लगायतका अन्य जिल्लामा सोही प्रकृतिको घटना घट्न नदिनका लागि पूर्वतयारी समेत सुरु गरेको छ । यसका लागि मन्त्रालयले बाँके, कपिलवस्तु, धनुषा, सिरहा, सप्तरी लगायतका जिल्लामा शान्ति, सुव्यवस्था र आपसी सद्भाव कायम राख्न प्रमुख जिल्ला अधिकारीमार्फत आवश्यक समन्वय भइरहेको छ,’ उनले भने ।

मन्त्रालयले सुरक्षा अनुगमन र समन्वयलाई तीव्र पारेको छ । मन्त्रालयमा बुधबार गृहमन्त्रीसहित सचिव र सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा जिल्लागत सुरक्षा अवस्थाबारे पनि गम्भीर समीक्षा गरिएको छ । मन्त्रालयले वार्ताको माध्यमबाट सुनसरीको समस्या समाधान गर्न पहल गरिरहेको र हाल सुनसरीको देवानगञ्जलगायत अन्य संवेदनशील क्षेत्रमा अवस्था सामान्य बन्दै गएको जनाएको छ ।