यूट्युबमार्फत भ्रामक सामग्री प्रसारण गरेको आरोपमा १ जना पक्राउ

यूट्युबमार्फत भ्रामक सामग्री प्रसारण गरेको आरोपमा १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीको साइबर ब्यूरोले यूट्युबमार्फत भ्रामक सूचना तथा अफवाह फैलाएको आरोपमा १ जनालाई पक्राउ गरेको छ ।

साइबर ब्यूरोका अनुसार सामाजिक सञ्जालमा फलोअर्स बढाउने र आर्थिक लाभ लिने उद्देश्यले ‘नेपाली खबर टीभी’ नामक यूट्युब च्यानलमार्फत राज्यको विद्यमान परिस्थितिमा प्रत्यक्ष असर पर्ने खालका भ्रामक भिडियो सामग्री प्रसारण गर्ने अर्घाखाँची सन्धीखर्क नगरपालिका–९ स्थायी घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बस्दै आएका ३९ वर्षीय जनक भुसाललाई पक्राउ गरिएको हो ।

ब्यूरोका अनुसार भुसालले अफवाह फैलाउँदै जातीय तथा धार्मिक हिंसात्मक र ध्वंसात्मक गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई थप उत्तेजित बनाउने, कानुनले प्रकाशन तथा प्रदर्शन गर्न निषेध गरेका सामग्री प्रसारण गर्ने तथा विभिन्न जातजाति र समुदायबिचको सामाजिक सद्भावमा खलल पुग्ने प्रकृतिका सामग्री प्रकाशन र प्रसारण गरेको आरोप लागेको छ ।

सामाजिक सञ्जालको निगरानी तथा प्राविधिक विश्लेषणका क्रममा निषेधित गतिविधि खुलेपछि इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा भुसाललाई साउन १६ गते बुटवलबाट पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।

उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी काठमाण्डु जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको साइबर ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।