काठमाण्डु – सशस्त्र प्रहरी बल (एपीएफ) इन्टेलिजेन्स ब्युरोले काठमाण्डु महानगरपालिका–१ नागपोखरी क्षेत्रबाट ठूलो परिमाणमा ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सुबर्ण थापा र सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्टको नेतृत्वमा खटिएको टोलीले आईतबार दिउँसो करिब १२:३० बजे अपरेसन सञ्चालन गरी लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा ४ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका–१ नागपोखरी निवासी ४३ वर्षीय प्रभात तिवारी, सर्लाहीको मलंगवा नगरपालिका–८ निवासी सुजन रायमाझी, काठमाण्डु महानगरपालिका–१४ बल्खु निवासी भूपेन्द्र श्रेष्ठ र ललितपुरको बागडोल–४ निवासी ५१ वर्षीय सविन श्रेष्ठ रहेका छन् ।
कारबाहीका क्रममा टोलीले २९६.७५ ग्राम ब्राउन सुगर, ट्रामाडोलका २२ पत्ता (२२० क्याप्सुल), नाइटोभेटका १३० क्याप्सुल, लागूऔषधमा मिसाउन प्रयोग हुने २२ वटा रासायनिक पदार्थका बोतल, बा७च ५१८० नम्बरको होन्डा कार, ४ थान एन्ड्रोइड मोबाइल, ३ थान ल्यापटप, १ थान प्रिन्टर, २ थान सञ्चार सेट तथा विभिन्न विदेशी मुद्रासहित नगद बरामद गरेको जनाएको छ ।
बरामद नगदमध्ये १ लाख ९८ हजार ३७५ रुपैयाँ, ३३ अमेरिकी डलर, २० भारतीय रुपैयाँ र १ हजार जापानी येन रहेको जनाइएको छ ।
एपीएफका अनुसार पक्राउ परेका प्रभात तिवारी यसअघि लागूऔषध मुद्दामा फरार अभियुक्त समेत रहेको खुलेको छ ।
पक्राउ परेका चारै जना तथा बरामद सामग्रीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको एपीएफ इन्टेलिजेन्स ब्युरोले जनाएको छ ।
एपीएफ इन्टेलिजेन्स ब्युरोले पछिल्लो १ महिनायता काठमाण्डु उपत्यकामा विशेष अपरेसन सञ्चालन गरी विभिन्न स्थानबाट ठूलो परिमाणमा लागूऔषध तथा त्यसका कारोबारीहरूलाई पक्राउ गर्दै आएको जनाएको छ ।




प्रतिक्रिया