काठमाण्डु– समाजका विभिन्न क्षेत्रसँग आबद्ध प्राध्यापक, पत्रकार, सामाजिक अभियन्ता तथा नागरिक समूहहरूले नेपालमा धार्मिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सरकारसँग प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।
उनीहरूले हालै तराईका केही जिल्लामा देखिएको धार्मिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गरेका हुन्।
संयुक्त अपिलमार्फत नेपाल शताब्दीयौँदेखि विभिन्न जाति, धर्म, भाषा र सम्प्रदायबीचको सहअस्तित्व, सहिष्णुता र आपसी सद्भावका आधारमा विकसित भएको बहुजातीय, बहुधार्मिक तथा बहुभाषिक राष्ट्र रहेको उल्लेख गरिएको छ। हिन्दू, बौद्ध, मुस्लिम, इसाई तथा किरात समुदायबीचको ऐतिहासिक सहकार्य र सम्मान नेपालको पहिचान रहेको जनाउँदै धार्मिक आधारमा हिंसात्मक अवस्था सिर्जना हुनु अत्यन्त दुर्भाग्यपूर्ण भएको उनीहरूको भनाइ छ।
अपिलमा देवानगञ्ज–३ बाट सुरु भएको सानो विवाद समयमै नियन्त्रण हुन नसक्दा तराईका केही जिल्लामा हिंसात्मक स्वरूप लिएको उल्लेख गर्दै प्रारम्भिक घटनाप्रति राज्यको प्रभावकारी प्रतिक्रिया नहुनु, अन्तरधार्मिक समन्वयलाई पर्याप्त प्राथमिकता नदिनु तथा सामाजिक विविधताको उचित व्यवस्थापन गर्न नसक्नु पनि घटनाका प्रमुख कारण रहेको दाबी गरिएको छ।
यद्यपि सरकार, विपक्षी दल, स्थानीय समुदाय, नागरिक समाज तथा गैरसरकारी संस्थाको सक्रियताले धार्मिक द्वन्द्व अन्य क्षेत्रमा फैलिन नपाएको र प्रभावित क्षेत्रमा क्रमशः शान्ति पुनःस्थापित हुँदै गएको भन्दै त्यसलाई सकारात्मक पक्षका रूपमा उल्लेख गरिएको छ।
अपिलकर्ताहरूले हिंसा रोकिए पनि त्यसले छोडेको अविश्वास, मनोवैज्ञानिक असर तथा सामाजिक दूरी अझै पूर्ण रूपमा हटिनसकेको बताएका छन्। साथै, प्रभावित क्षेत्रमा बाह्य तत्वको सम्भावित घुसपैठबारे उठेका प्रश्नलाई राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर विषयका रूपमा लिएर निष्पक्ष अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन्।
उनीहरूले सूचना प्रविधिको विस्तार, सामाजिक सञ्जालको प्रभाव, बसाइँसराइ तथा बदलिँदो सामाजिक–सांस्कृतिक परिवेशका कारण भविष्यमा यस्ता विवाद दोहोरिन सक्ने जोखिम औँल्याउँदै सीमावर्ती क्षेत्रको व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
विशेषगरी दक्षिणी खुला सीमामा हुने आवतजावतलाई पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउन भारतसँग आवश्यक समन्वय गर्न तथा सम्भावित अवाञ्छित गतिविधि रोक्न प्रभावकारी संयन्त्र विकास गर्न आग्रह गरिएको छ। हालैको घटनामा तेस्रो मुलुकबाट नेपाल प्रवेश गरेका व्यक्तिहरूको सम्भावित संलग्नताबारे उठेका आशंकाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न पनि माग गरिएको छ।
संवेदनशील परिस्थितिमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नु सकारात्मक भए पनि धार्मिक तनाव उत्कर्षमा पुगेको अवस्थामा सम्पूर्ण नेपालीलाई संयमता अपनाउन, सामाजिक सद्भाव कायम राख्न र सबै समुदायबीच विश्वास अभिवृद्धि गर्न केन्द्रित सन्देश आवश्यक रहेको धारणा अपिलमा व्यक्त गरिएको छ।
अपिलकर्ताहरूले धार्मिक, जातीय वा सामुदायिक विद्वेष फैलाउने कुनै पनि गतिविधिमा संलग्न नहुन सम्पूर्ण नागरिकलाई आग्रह गर्दै सामाजिक सद्भावको संरक्षण सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा धर्मगुरु सबैको साझा दायित्व भएको बताएका छन्। साथै, हालै सामाजिक सद्भाव भंग गर्ने कार्यमा जो–कोही संलग्न भएको भए पनि निष्पक्ष अनुसन्धान गरी कानुनअनुसार कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।
उक्त अपिलमा प्राध्यापक, पत्रकार, सामाजिक अभियन्ता, पाकाहरूको चौतारी, सजक समूह तथा खुकुलो समूहको समर्थन रहेको उल्लेख गरिएको छ।




प्रतिक्रिया