काठमाण्डु – होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउन कूटनीतिक प्रयासहरू तीव्र भएका छन्। इरानले ओमानसँगको वार्ता सकारात्मक रूपमा अगाडि बढिरहेको बताएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जलमार्गसम्बन्धी वार्तामा प्रगति भएको जानकारी दिएका छन् भने अमेरिकी कोषाध्यक्ष स्कट बेसेन्टले आज वा भोलि नै सम्झौता सम्भव हुन सक्ने संकेत गरेका छन्। प्राविधिक र राजनीतिक स्तरमा होर्मुजबाट जहाजहरू पार गर्ने व्यवस्था मिलाउने विषयमा इरान र ओमानबिच छलफल भइरहेको छ। हालसम्म अन्तिम सम्झौता भएको छैन।
कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ताले अमेरिका र इरानबीचको सम्भावित सम्झौताको मस्यौदा परिचालनको चरणमा रहेको र यो अत्यन्तै प्रगतिशील चरणमा पुगेको बताको समाचारमा उल्लेख छ। यो छोटो अवधिको कूटनीतिक समाधानका लागि भएको स्पष्ट पार्दै मन्त्रालयले अहिले नै प्रत्यक्ष वार्ताबारे कुनै ठोस कुरा नभएको तर कतार, ओमान र पाकिस्तानले अमेरिका र इरानबीचको संवादलाई सहज बनाउन प्रयास गरिरहेको जनाएको छ।
यसअनुसार इरानलाई भित्रिने ढुवानीमा पूर्ण नियन्त्रण दिने र ओमानले इरानलाई सूचना दिएर बाहिरिने जहाजहरूलाई अनुमति दिने व्यवस्था हुन सक्ने जनाइएको छ ।
क्षेत्रीय अधिकारीहरूका अनुसार जहाजहरू इरानी नियन्त्रित मार्गबाट खाडीमा प्रवेश गर्ने र ओमानी मार्गबाट बाहिरिने व्यवस्था हुन सक्छ। सुरक्षा र वातावरण संरक्षणका लागि सेवा शुल्क लिने कुरा पनि छलफलमा छ। यो सम्झौता अमेरिकी नाकाबन्दी हटाउने सर्तसँग जोडिएको हुन सक्ने स्रोतहरूले बताएका छन्।
यसअघि जुन महिनामा अमेरिका र इरानबिच प्रारम्भिक समझदारी भएको थियो। तर होर्मुजसम्बन्धी व्यवस्था र अन्य मुद्दाहरूका कारण तनाव जारी रह्यो। इरानले फेब्रुअरीतिर जलमार्गमा प्रतिबन्ध लगाएको थियो भने पछिल्ला महिनामा सैन्य कारबाहीहरू भएका थिए। अहिलेको वार्ताले यस तनावलाई कम गर्ने आशा गरिएको छ।
यसैबिच, यमन नजिकै रेड सीमा एक भारतीय व्यावसायिक जहाज आक्रमणमा परेको छ। एमएसभी फैजे नुरे ओलिया नामक जहाज प्रोजेक्टाइल वा विस्फोटक डुंगाले प्रहार गरेपछि डुब्यो। जहाजमा सवार १३ जना भारतीयसहित १४ जना चालक दलका सदस्यलाई यमनी तटरक्षकले सकुशल उद्धार गरी मोखा बन्दरगाहमा पुर्याएका छन्। भारतले आक्रमणको निन्दा गरेको छ भने यमनको सरकारले हुथी समूहलाई दोषी ठहर्याएको छ। यस घटनाले क्षेत्रीय समुद्री सुरक्षामा थप चुनौती थपेको छ।
हर्मुज स्ट्रेट चाँडै खुल्ने अमेरिकी अधिकारीहरूको बयानपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। विश्वव्यापी तेलको बेञ्चमार्क मानिने ब्रेंट क्रुड ५ प्रतिशतभन्दा बढीले घटेर प्रतिब्यारेल ७९.५० डलर मा झरेको छ। गत जुलाई १३ यता तेलको मूल्य ८० डलरभन्दा तल झरेको यो पहिलो पटक हो। पछि यो केही सुधार हुँदै ४ प्रतिशतको घटबढसँगै ८०.५० डलर प्रतिक ब्यारेलमा कारोबार भएको छ।
अमेरिकी तेल बेञ्चमार्क डब्लूटीआई ५.५ प्रतिशतभन्दा बढीले घटेर प्रतिब्यारेल ७५.७७ डलर मा पुगेको छ, जुन तीन सातायताकै न्यून विन्दु हो। पछि यो ४.३ प्रतिशतको घटबढसँगै ७६.९० डलर प्रतिब्यारेल कायम भएको छ। तेलको मूल्य घटेसँगै अमेरिकी शेयर बजारमा भने भारी उछाल आएको छ ।




प्रतिक्रिया