वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ४ जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ४ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजगारीका लागि विभिन्न देशमा आकर्षक तलबसहित पठाइदिने प्रलोभन देखाएर रकम ठगी गर्ने ४ जनालाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको छ ।

कार्यालयका अनुसार बेरोजगार युवायुवतीलाई मौरिसस, कम्बोडिया, रोमानिया र संयुक्त अरब इमिरेट्स (यूएई) पठाइदिने भन्दै लाखौं रुपैयाँ असुलेर विदेश नपठाई सम्पर्कविहीन बनेको उजुरीका आधारमा अनुसन्धान गर्दा ४ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका–६ का ४१ वर्षीय मनोहर मुडभरी रहेका छन् । उनले मौरिसस पठाइदिने भन्दै १ जनाबाट ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ । उनलाई साउन १९ गते ललितपुर महानगरपालिका–३ बाट पक्राउ गरिएको छ ।

बाजुराको हिमाली गाउँपालिका–४ का २६ वर्षीय अनिल मल्ललाई कम्बोडिया पठाइदिने भन्दै ८ लाख ८४ हजार रुपैयाँ ठगी गरेको आरोपमा साउन २० गते काठमाण्डु महानगरपालिका–११ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कास्की पोखरा महानगरपालिका–२१ की ३४ वर्षीया कमला पौडेल सुनारलाई रोमानिया पठाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाण्डु महानगरपालिका–२६ बाट पक्राउ गरिएको छ ।

पाँचथरको फालेलुङ गाउँपालिका–१ का ४१ वर्षीय तुलसीराम ढुंगेललाई पनि यूएई पठाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा बुधबार काठमाण्डु महानगरपालिका–९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने गिरोहविरुद्ध अनुसन्धानलाई तीव्र बनाइएको जनाएको छ । विदेश जानुअघि सम्बन्धित म्यानपावर कम्पनी, वैदेशिक रोजगार विभागको स्वीकृति तथा कानुनी प्रक्रिया अनिवार्य रूपमा बुझेर मात्र आर्थिक कारोबार गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।