काठमाण्डु– इरानले हर्मुज जलडमरूमध्यमार्फत जहाज सञ्चालनका लागि ओमानसँग नयाँ समुद्री मार्ग तय गर्ने विषयमा सहमति भएको जनाएको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले उक्त सहमति अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्। यद्यपि उनले सम्झौताका विस्तृत विवरण सार्वजनिक गरेका छैनन्।
बाघाईले ओमानसँग भएको सहमतिले मात्र हर्मुज जलडमरूमध्यमा सुरक्षित आवागमनको सुनिश्चितता नगर्ने स्पष्ट पारेको बीबीसीले जनाएको छ । उनका अनुसार अमेरिकाले इरानका बन्दरगाहमाथि लगाएको नाकाबन्दीका कारण समुद्री सुरक्षामा अझै असर परिरहेको छ। यस विषयमा अमेरिका र ओमानले भने कुनै प्रतिक्रिया दिएका छैनन्।
फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि तेहरानले विश्वको करिब २० प्रतिशत कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ओसारपसार हुने हर्मुज जलडमरूमध्यलाई ठूलो मात्रामा अवरुद्ध गर्दै आएको छ।
मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्य ‘छिट्टै नखुले’ इरानले ‘कडा प्रहार’ सामना गर्नुपर्ने चेतावनी दिएका थिए।
ट्रम्पको उक्त अभिव्यक्तिभन्दा अघि अमेरिकी उच्च अधिकारीहरूले वार्तामा प्रगति भएको र यसै साताको अन्त्यसम्म जहाज सञ्चालन पुनः सुरु हुन सक्ने बताएका थिए। तर इरानले आफू अमेरिकासँग कुनै वार्ता नगरेको र त्यसो गर्ने योजना पनि नरहेको दोहोर्याएको छ।
हर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने विषय दुवै पक्ष तथा मध्यस्थकर्ताबीचको छलफलको प्रमुख एजेन्डा बनेको छ।
विदेश मन्त्रालयका प्रवक्ता बाघाईले जारी गरेको विज्ञप्तिमा ओमानसँग नयाँ समुद्री मार्गका ‘भौगोलिक निर्देशांक’ मा सहमति भएको उल्लेख गरिएको छ।
इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले पछि सरकारी समाचार संस्था इरनालाई दिएको जानकारीअनुसार नयाँ समुद्री मार्ग अस्थायी हुनेछ र दुईदेखि चार महिनासम्म सञ्चालनमा रहन सक्नेछ। तर उनले पनि मार्गसम्बन्धी थप विवरण खुलाएका छैनन्।
यसबीच, विश्व बजारमा तेलको मूल्य केही घटेको छ। बिहीबार एसियाली कारोबारका क्रममा अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट कच्चा तेलको मूल्य ०.३ प्रतिशतले घटेर प्रति ब्यारेल ७९.२४ अमेरिकी डलर पुगेको छ।
हर्मुज जलडमरूमध्यमार्फत विश्वको करिब २० प्रतिशत कच्चा तेल र एलएनजी ढुवानी हुने भएकाले यस क्षेत्रमा उत्पन्न तनावका कारण पछिल्ला महिनाहरूमा ऊर्जा बजारमा तीव्र उतारचढाव देखिँदै आएको छ।




प्रतिक्रिया