दिल्लीमा पत्रकार सम्मेलन गर्दै हसिनाले गरिन् स्वदेश फर्किने घोषणा,भारतको भूमिकाप्रति बंगलादेश आक्रोशित

दिल्लीमा पत्रकार सम्मेलन गर्दै हसिनाले गरिन् स्वदेश फर्किने घोषणा,भारतको भूमिकाप्रति बंगलादेश आक्रोशित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भारतमा निर्वासन जीवन बिताइरहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेकी छन्। उनले स्वदेश फर्केर जनताको साथमा उभिने र उनीहरूको जीवन सुधारका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन्।

अगस्ट २०२४ मा सत्ताच्युत भएपछि भारतमा बस्दै आएकी हसिनाले बुधबार आयोजित पत्रकार सम्मेलनमा अडियो लिंकमार्फत सम्बोधन गर्दै डिसेम्बरमा बंगलादेश फर्कने योजना रहेको बताइन्।

उनीसँग स्वदेश फर्किने समयबारे सोधिएको प्रश्नमा सन् १९७१ को बंगलादेश मुक्ति युद्धको स्मरण गर्दै उनले भनिन्, ‘डिसेम्बर हाम्रो विजयको महिना हो, त्यसैले म डिसेम्बरमै स्वदेश फर्कन चाहन्छु।’ हाल बंगलादेशमा हसिनाविरुद्ध मृत्युदण्डको फैसला सुनाइएको छ भने उनको पार्टी अवामी लिग माथि प्रतिबन्ध लगाइएको छ।

दक्षिण एसियाका विदेशी पत्रकारहरूको संस्था Foreign Correspondents’ Club of South Asia मा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै हसिनाले भनिन्, ‘मेरो भाग्यमा जे लेखिएको भए पनि म आफ्ना जनतामाझ फर्किनेछु। मेरा प्रिय देशवासीहरू दुःखमा रहेका बेला म उनीहरूबाट टाढा बस्न सक्दिनँ। मलाई थाहा छ, मलाई पक्राउ गर्न सकिन्छ। जेल पठाउन सकिन्छ। झुटा मुद्दामा फैसला कार्यान्वयन गर्ने प्रयास हुन सक्छ। तर डरले जनताप्रतिको मेरो कर्तव्य निर्धारण गर्न सक्दैन। व्यक्तिगत सुरक्षाको हिसाब–किताब मैले धेरै पहिले नै छोडिसकेकी छु। मलाई जेल हाल्न सक्छन् वा मार्न पनि सक्छन्।’

उनले आफूमाथि यसअघि १९ पटक हत्या प्रयास भएको दाबी गर्दै भनिन्, ‘म आफ्नो भविष्यको चिन्ता गर्दिनँ। मलाई बंगलादेशको भविष्यको चिन्ता छ। जनताले सुरक्षा, विकास, समृद्धि र शान्ति पाउनुपर्छ। त्यसैले म स्वदेश फर्कन चाहन्छु।’

नरसंहारको अभियोगमा दोषी ठहर गरिएकी शेख हसिनालाई सञ्चारमाध्यमसँग प्रत्यक्ष अन्तरक्रिया गर्न अनुमति दिइएकोप्रति बंगलादेश आक्रोशित छ।

बंगलादेशको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यस कार्यक्रमले दुई देशबीचको सम्बन्धलाई पुनः सुदृढ बनाउने प्रयासमा नकारात्मक असर पर्न सक्ने विषयमा भारत सरकारलाई पूर्वमै हाम्रो गम्भीर चिन्ता जानकारी गराइएको थियो। त्यसका बाबजुद पनि यस्तो सार्वजनिक कार्यक्रम आयोजना गर्न अनुमति दिइएकोमा ढाकाले गहिरो दुःख व्यक्त गर्दछ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘ढाका भारतसँग रचनात्मक, पारस्परिक रूपमा लाभदायी र भविष्यउन्मुख सम्बन्ध कायम राख्न चाहन्छ। तर, कुनै पनि बहानामा शेख हसिनालाई सञ्चारमाध्यमसँग खुला रूपमा संवाद गर्ने अवसर उपलब्ध गराइनु बंगलादेशी जनताको भावनामा गहिरो चोट पुर्‍याउने कार्य हो। साथै, यसले बंगलादेश र भारतबीचको सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको विकासमा समेत नकारात्मक असर पार्नेछ।’