काठमाण्डु– घरजग्गासम्बन्धी कारोबार गर्न इच्छुक फर्म, कम्पनी वा संस्थालाई इजाजत पत्र (लाइसेन्स) लिन २१ दिनको समय तोकिएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट लाइसेन्स लिन २१ दिनको समय दिइएको हो ।
विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एकपटकमा ३ करोड रुपैयाँभन्दा बढी कारोबार गर्न इच्छुक फर्म, कम्पनी वा संस्थाले गर्न घरजग्गा इजाजत पत्र लिन अबको २१ दिनभित्र अनलाइन निवेदन पेस गर्न भनेको हो।
महानगरपालिका र उपमहानगरपालिका क्षेत्रलाई कार्यक्षेत्र घोषणा गरेको हुँदा एक पटकमा तीन करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने इच्छुक फर्म, कम्पनी वा संस्थाहरुले उक्त क्षेत्रमा कारोबार गर्न घरजग्गा इजाजत पत्र लिन यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिनभित्र तपसिलमा उल्लेख भए बमोजिम https://publicdolma.gov.np/dolma मार्फत अनलाइन निवेदन पेस गर्न मालपोत नियमावली, २०३६ को नियम २३ञ. को उपनियम (१) बमोजिम यो सूचना प्रकाशन गरिएको छ।’ सूचनामा भनिएकाे छ ।





प्रतिक्रिया