निर्मला पन्त प्रकरणबारे संसदमा नबोल्न सांसदहरुलाई गृहमन्त्री गुरुङको चेतावनी

निर्मला पन्त प्रकरणबारे संसदमा नबोल्न सांसदहरुलाई गृहमन्त्री गुरुङको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषय संसदमा नउठाउन सांसदहरुलाई चेतावनी दिएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा प्रश्नोत्तरमा सहभागी भएका गुरुङले प्रश्नकर्ता सांसदहरुलाई त्यस्तो चेतावनी दिएका हुन् ।

नेकपा सांसद् विष्णुबहादुर विश्वकर्माले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नमाथि हालसम्म कारबाही नहुनुको कारण सोधेका थिए ।

जवाफ दिने क्रममा गुरुङ विश्वकर्मासँग रिसाए । उनले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा निर्मलाका विषयमा कुरा नउठाउन चेतावनी दिए ।

‘सम्पूर्ण माननीयज्युहरूलाई अब प्रतिनिधि सभा र राष्ट्रिय सभामा यो प्रश्न नउठाइदिनु हुन म हजुरहरूलाई विनम्र आग्रह गर्न चाहन्छु,’ गुरुङले भने ।
उनले आफूहरु सत्तामा हुँदा किन निर्मला प्रकरणका दोषीमाथि कारबाही नगरेको भन्दै प्रश्नकर्ता सांसदलाई नै प्रतिप्रश्न गरे ।


‘माननीयज्यूले उठाउनु भएको विषयमा म हजुरलाई पनि गर्न चाहन्छु, हजुरहरू सत्तामा हुँदा खेरि किन नगर्नु भएको ?’
आफू सत्तामा हुँदा नगरेका पुराना दलले रास्वपा सरकारमा आएपछि सोही विषय उठाएर घाउ कोट्याउने काम गरेको आरोप उनको थियो । सदनमा त्यस्ता विषय बारम्बार उठाइराख्दा पीडित परिवारलाई थप पीडा हुने भएकाले उठाउन नहुने तर्क गृहमन्त्रीले गरे ।

‘अहिले हामीलाई आएर त्यो भारी बोकाउदै गर्दा खेरि माननीयज्यूलाई एउटा आग्रह गर्न चाहेँ, यो एकदम सेन्सिटिभ विषय हो’, उनले भने, ‘ यो सेन्सिटिभ विषयलाई हामीले जहिले पनि त्यो एउटा आमाको घाउलाई कोट्याको कोट्याइ गरेर सदनको मार्फतबाट उहाँलाई पिडा दिई राख्ने हो ?

कोही मानिस मारिएको घटनालाई सदनमा उठाएको उठायै गर्दा मनमा शान्ति नहुने तर्क उनको छ ।

तपाईंको कोही मान्छे बित्दै गर्दाखेरि त्यसबारे दिनका दिन सम्झाउँदा, राष्ट्रिय स्तरबाट सम्झाउँदा तपाईंलाई मजा आउछ होला त ? तपाईलाई मनमा शान्ति हुन्छ होला त ? यो पनि म हजुरलाई प्रश्न गर्न चाहन्छु’, उनले भने ।

अनुसन्धानको विषय भएकाले निर्मला प्रकरणबारे आफूले धेरै बोल्न नमिल्ने तर्क गरे । अनुसन्धान भने जारी रहेको बताए ।