सरकारबारे प्रश्न नसोध्न गृहमन्त्रीले निर्देशन दिनु आपत्तिजनकः कर्ण

सरकारबारे प्रश्न नसोध्न गृहमन्त्रीले निर्देशन दिनु आपत्तिजनकः कर्ण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काँग्रेस सांसद् रञ्जित कर्णले सरकारलाई प्रश्न नसोध्न सांसदलाई निर्देशन दिएको भन्दै गृहमन्त्री सुधन गुरुङप्रति आपत्ति जनाएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा सांसद् कमला पन्तद्वारा प्रस्तुत ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ सम्बन्धी ध्यानाकर्षण प्रस्तावमा धारणा राख्ने क्रममा कर्णले गृहमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको बताए ।


उनले संसदीय लोकतन्त्रमा जनताका प्रश्न प्रधानमन्त्री र मन्त्रीलाई सोधिने थलो संसद् भएको स्पष्ट गरे । ‘सम्माननीय अध्यक्षज्यूमार्फत म अहिले भर्खरै गृहमन्त्रीज्यूले जे भन्नुभयो, संसदको रोष्ट्रमबाट । उहाँसँग दुई तिहाई नजिकको लगभग सरकार छ । उहाँले सांसदलाई जवाफ दिन जरुरी नहुन सक्छ । उहाँको कुरा हो’, कर्णले भने, ‘ तर, गम्भीर आपत्ति म व्यक्त गर्न चान्छु । गृहमन्त्रीजीले सांसदहरुलाईयो प्रश्न नसोध्नुहोला, नसोधिदिनुस् भन्ने जुन किसिमको उहाँले निर्देशन दिनुभएको छ । म गम्भीर आपत्ति व्यक्त गर्दछु । संसदीय व्यवस्थामा जनताका आवाज मन्त्री र प्रधानमन्त्रीलाई सोध्ने माध्यम नै संसद् हो । सांसदका प्रश्नको जवाफ दिनैपर्छ ।’


त्यसअघि प्रश्नोत्तरमा सहभागी भएका मन्त्री गुरुङलाई नेकपा सांसद् विष्णुबहादुर विश्वकर्माले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तले कहिले न्याय पाउने भन्दै प्रश्न गरेका थिए ।

जवाफमा गुरुङले आफूहरु सत्तामा भएका बेला किन अनुसन्धान नगरेको भन्दै प्रतिप्रश्न गरे । उनले मृतककी आमालाई पीडा हुने भएकाले दुवै सदनमा अबदेखि निर्मला प्रकरणमा प्रश्न नगर्न चेतावनी दिए ।

प्रश्नको चित्तबुझ्दो जवाफ नआएको भन्दै विश्वकर्माले सोही विषयमा पुनः पुरक प्रश्न गरे । गृहमन्त्री गुरुङले जवाफ नदिने बताए । त्यसबारे समाचार प्रकाशित भएसँगै सञ्जालमा गुरुङको आलोचना भयो ।

लगत्तै उनले आवेशमा आएर आफूले गलत शैलीका साथ प्रस्तुत भएको भन्दै माफी पनि मागे ।

उनले आफूहरु अनुभवहीन भएकाले पुराना दलको अनुभवबाट सिक्दै जाने प्रतिबद्धता जनाए ।