काठमाण्डु – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले सुशासन प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन देशभरका सरकारी कार्यालयहरूको अनुगमनलाई तीव्रता दिएको जनाएको छ ।
केन्द्रका अनुसार प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार गठन भएयता देशभरका ८५३ सरकारी कार्यालयको अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा सरकारी आचारसंहिता पालना नगरेका ८ हजार ८३० कर्मचारीलाई आवश्यक कारबाही गर्न सम्बन्धित अख्तियारवाला निकायलाई निर्देशन दिइएको केन्द्रले जनाएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले राष्ट्रिय गौरव तथा विकास योजनाहरूको प्राविधिक परीक्षण, सेवा प्रवाहमा हुने ढिलासुस्ती नियन्त्रण गर्न ‘फाइल ट्रयाकिङ’ प्रणाली सञ्चालन तथा सेवाग्राही सन्तुष्टि सर्वेक्षण लगायतका कार्यलाई पनि निरन्तर अघि बढाइरहेको जनाएको छ ।
केन्द्रलाई थप अधिकारसम्पन्न बनाउने उद्देश्यका साथ ‘सतर्कता ऐन’ तर्जुमाको प्रक्रिया अन्तिम चरणमा पुगेको पनि जानकारी दिइएको छ । नयाँ कानुनी व्यवस्थामार्फत प्रविधिमैत्री निगरानी प्रणाली विस्तार गर्दै प्रदेश, जिल्ला र स्थानीय तहसम्म सतर्कता अधिकृतको व्यवस्था गरी नियमन प्रणालीलाई थप प्रभावकारी बनाइने लक्ष्य राखिएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले सरकारी निकायमा भ्रष्टाचार, कर्मचारीबाट आचारसंहिता उल्लंघन वा शंकास्पद सम्पत्ति सम्बन्धी सूचना भए केन्द्रको हटलाइन नम्बर ०१–४२००३४५ मा सम्पर्क गरी जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।




प्रतिक्रिया