काठमाण्डु – नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको माग बमोजिम सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
बैंकको तर्फबाट दायर रिटमाथि सुनुवाइ गर्दै बिहीबार सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले बैंकका अध्यक्षसहित अन्य सञ्चालकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
स्मार्ट टेलिकमको सम्पत्ति सरकारी अनुमति विना बैंकले लिलाम बिक्री गरेको आरोपमा अनुसन्धानका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेमाथि धरपकड गरेपछि र अन्यविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि रिट दायर गरिएको थियो ।
धितोमा राखिएको सम्पत्ति लिलाम बिक्रीको थप अनुसन्धानका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुरोधमा जिल्ला अदालत काठमाण्डुले सञ्चालक समितिका सबै सदस्यका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि नेपाल राष्ट्र बैंकले सबै सञ्चालकको बैंक खाता रोक्का गरेको थियो ।
जिल्ला अदालतको पक्राउ आदेशविरुद्ध बैंक अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा अन्य सञ्चालकका तर्फबाट बैंकका सीईओ पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वाेच्च पक्राउ पुर्जीको आदेशअनुसार पक्राउ नगर्न आदेश दिएको छ भने अन्तरिम आदेश छलफलका लागि साउन २५ गते दुवै पक्षलाई बोलाएको छ ।




प्रतिक्रिया