काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकार सीमित गर्ने प्रयास फेरि अघि बढाएका छन्।
केही साताअघि अमेरिकी सर्वोच्च अदालतले उनको अघिल्लो प्रयास अस्वीकार गरेपछि ट्रम्पले बिहीबार दुईवटा नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।
तीमध्ये पहिलो आदेशले जन्मसिद्ध नागरिकता नपाउने गैर–नागरिक अभिभावकहरूको परिभाषा थप विस्तार गरेको छ। दोस्रो आदेशले ‘बर्थ टुरिज्म’अर्थात् गर्भवती महिलाहरू अमेरिकामा बच्चा जन्माएर शिशुलाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले अमेरिका आउने अभ्यासमाथि प्रतिबन्ध लगाएको छ ।
ह्वाइट हाउसको ओभल अफिसबाट बोल्दै ट्रम्पले भने, ‘यो काम धेरै वर्षअघि नै हुनुपर्थ्यो, तर अहिले हामी त्यसलाई कार्यान्वयन गरिरहेका छौँ।’ उनले जन्मसिद्ध नागरिकता अन्त्य गर्ने आफ्नो अघिल्लो प्रयास सर्वोच्च अदालतले अस्वीकार गरेकोप्रति पनि आलोचना गरे।
पहिलो कार्यकारी आदेशमा भनिएको छ, ‘मेरो प्रशासनले हाम्रो राष्ट्रको उदारताको फाइदा उठाएर अमेरिकी नागरिकलाई ठग्ने दुष्ट विदेशी पक्षहरूले उत्पन्न गरेका जोखिमविरुद्ध सुरक्षा गरेको छ।’
नयाँ आदेशअनुसार, यदि अमेरिकामा जन्मिने शिशुका दुवै अभिभावक अमेरिकी नागरिक नभएका छन् भने, तीमध्ये कुनै एक अभिभावक निम्न अवस्थामध्ये कुनैमा परेमा शिशुले स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने छैनः
विदेशी आतंकवादी समूहको सदस्य भएको,
विदेशी सरकारको कर्मचारी भएको,
ठगी वा जालसाजीमार्फत अमेरिकी नागरिकता प्राप्त गर्ने प्रयास गरेको,
वा अमेरिकी संघीय कानुनले नागरिकता नदिने अमेरिकी भूभागमा बसोबास गरिरहेको।
यद्यपि, पुएर्टो रिको जस्ता अमेरिकी भूभागमा जन्मिएका व्यक्तिहरूको जन्मसिद्ध नागरिकता संघीय कानुनद्वारा सुनिश्चित गरिएको छ।– एजेन्सी




प्रतिक्रिया