काठमाण्डु– पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शुक्रबार काठमाण्डुको स्वयम्भूमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।
बिहीबार पाकिस्तानबाट नेपाल ल्याइएको उनको पार्थिव शरीरमा अन्त्येष्टिअघि श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, रास्वपा सांसद् एवं पूर्वउपसभामुख इन्दिरा रानामगर, नेपाल पर्वतारोहण संघका पदाधिकारी तथा आफन्तहरूको उपस्थिति थियो ।
गृहमन्त्री गुरुङले युक्तको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर अन्तिम सम्मान व्यक्त गरेका थिए ।
गत साता ब्रोड पिक आरोहणका क्रममा आएको हिमपहिरोमा पुरबहादुर गुरुङसहित ६ नेपाली र चार विदेशी गरी १० पर्वतारोहीको ज्यान गएको थियो । मृतकमध्ये गुरुङको शव मात्र नेपाल ल्याइएको छ ।
अनुभवी पर्वतारोही गुरुङले १० पटक सर्वोच्च शिखर सगरमाथाको फल आरोहण गरेका थिए ।
यस्तै उनले ८ हजार मिटरभन्दा अग्ला हिमाल २८ पटक आरोहण गरेका थिए । युक्त उत्तरी गोरखाको लाप्राकका स्थायी बासिन्दा हुन् ।




प्रतिक्रिया