काठमाण्डु– सगरमाथाको शिखर नजिकै करिब ३० वर्षदेखि हिउँमा जमेर रहेको ‘ग्रीन बुट्स’ नामले चिनिने शव उद्धार गरी भारत ल्याउने लैजाने तयारी भएको छ। भारतीय–तिब्बती सीमा प्रहरी (आईटीबीपी) ले शव उद्धारका लागि अनुभवी उच्च हिमाली उद्धार तथा शेर्पा टोलीको खोजी गरिरहेको छ।
आईटीबीपीले आगामी सेप्टेम्बरसम्म शवलाई सगरमाथाबाट तल झारेर भारत ल्याउने लक्ष्य राखेको छ। भारतले उक्त शव सन् १९९६ मा सगरमाथा आरोहणका क्रममा मृत्यु भएका आईटीबीपीका आरोही दोर्जे मोरुपको भएको विश्वास गरेको छ। शव भारत ल्याएपछि डीएनए परीक्षणमार्फत पहिचान पुष्टि गर्ने तयारी छ।
सगरमाथाको करिब ८ हजार ५०० मिटर उचाइमा एउटा चट्टानको ओतमा हिउँले पुरिएको अवस्थामा रहेको यो शव आरोहीहरूका लागि वर्षौंदेखि एउटा भयावह मार्गचिन्हका रूपमा परिचित छ। मृत आरोहीले लगाएको हरियो रङको पर्वतारोहण जुत्ताका कारण यसलाई ‘ग्रीन बुट्स’ नाम दिइएको हो।
सन् १९९६ मा सगरमाथा आरोहणका लागि गएको आईटीबीपीको छ सदस्यीय टोलीमध्ये तीन जना हिमआँधीका कारण बीचमै फर्किएका थिए। तर दोर्जे मोरुप, तेसेवाङ साम्ला र तेसेवाङ पाल्जोरले आरोहण जारी राख्दै सगरमाथाको ८,८४९ मिटर अग्लो शिखरमा पुगेका थिए।
शिखरबाट फर्कने क्रममा आएको भीषण हिमआँधीमा परी तीनै जनाको मृत्यु भएको थियो। त्यसयता उनीहरूको शव सगरमाथामै रहेको थियो। वर्षौँसम्म ‘ग्रीन बुट्स’ लाई तेसेवाङ पाल्जोरको शवका रूपमा चिनिँदै आएको थियो।
तर सन् १९९६ को अभियानमा जीवित फर्किएका सदस्यहरूको बयान, आरोहीहरूसँग भएको अन्तिम रेडियो सम्पर्क र शव भेटिएको स्थानका आधारमा भारतीय अधिकारीहरूले पछिल्ला वर्षमा उक्त शव दोर्जे मोरुपको भएको निष्कर्ष निकालेको बीबीसीले जनाएको छ । मोरुपका कपडा तथा आरोहण सामग्रीले पनि शव पहिचानमा सहयोग गरेको बताइएको छ।
पर्वतारोहण विज्ञहरूका अनुसार सगरमाथाबाट शव उद्धार गर्ने अभियानमा सामान्य अवस्थामा पनि ४० हजारदेखि ८० हजार अमेरिकी डलरसम्म खर्च हुन सक्छ। साथै उद्धारका क्रममा संलग्न आरोही तथा शेर्पाको सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने हुन्छ।
सगरमाथा क्षेत्रमा विगत एक शताब्दीमा मृत्यु भएका ३०० भन्दा बढी मानिसमध्ये धेरैको शव अझै हिमालमै छन्। अत्यधिक उचाइ, प्रतिकूल मौसम र जोखिमपूर्ण भूगोलका कारण शव उद्धार गर्न कठिन हुने भएकाले धेरै शवलाई त्यहीँ सुरक्षित वा कम देखिने स्थानमा राख्ने गरिएको छ।
तर आईटीबीपीले आफ्ना सहकर्मी दोर्जे मोरुपको शव भने स्वदेश फर्काउने प्रयास अघि बढाएको छ। उद्धार सफल भएमा करिब तीन दशकदेखि श्रीमान्को शवको पर्खाइमा रहेकी मोरुपकी पत्नी र परिवारले अन्ततः उनको अवशेष प्राप्त गर्नेछन्।
शव भारत पुर्याएपछि डीएनए परीक्षण गरिनेछ। परीक्षणबाट शव दोर्जे मोरुपकै भएको पुष्टि भएमा उनको अन्तिम संस्कारका लागि परिवारलाई हस्तान्तरण गरिनेछ।




प्रतिक्रिया