काठमाण्डु– आज काठमाण्डुसहित देशका ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डु, भक्तपुर, ललितपुरसहितका ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको हो ।
झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाण्डु भक्तपुर, ललितपुर, काभ्रपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहुँ, बागलुङ, म्याग्दीमा आकस्मिक बाढीको जोखिम रहेको छ ।
यस्तै रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बर्दिया, कैलाली, बझाङ, दार्चुला, बैतडी र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।
यस्तै आज बाढीपहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्।
तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक, रुकुम पश्चिमको भेरी करिडोरलगायत सडकखण्डमा यातायात प्रभावित भएको प्रहरीले छ।
इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त क्षेत्रमा वैकल्पिक मार्ग भने रहेको प्रहरीले जनाएको छ।
काभ्रे–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ देखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था मिलाइएको छ।
यस्तै मकवानपुरको कान्ति लोकपथमा पनि वर्षायामका कारण बेलुका ५ देखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
यता अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा कटान भएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काडेस्थित पिङवाखोला नजिक मध्यपहाडी लोकमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम कायम रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।




प्रतिक्रिया