काठमाण्डु– पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको व्यापार तथा औषधि उत्पादन क्षमता बढ्दै गएको भन्दै यसको थप विस्तार गरी १५० प्रकारका औषधि उत्पादन गर्ने तथा ३५ प्रकारका निःशुल्क औषधिमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्यप्रति आभार व्यक्त गरेका छन्।
उनले आफू स्वास्थ्यमन्त्री हुँदा अघि बढाइएका नीति तथा योजनाअनुरूप वैद्यखानाले गति लिइरहेको देख्दा खुसी लागेको बताएका हुन् । उनले ‘निरोगी नेपाल’ निर्माणका लागि आयुर्वेदलाई स्वास्थ्य प्रणालीको मूलप्रवाहमा ल्याउनुपर्नेमा जोड दिएका छन्।
नेपालमा नसर्ने रोगको दर ३० प्रतिशतले घटाउने तथा आयुर्वेद क्षेत्रमा जनशक्ति वृद्धि गर्ने लक्ष्यसहित आफू स्वास्थ्यमन्त्री हुँदा ‘राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति (१० वर्षे)’ तर्जुमा गरिएको उनले बताएका छन्।
त्यस्तै, ३८० वर्षभन्दा बढी पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखाना पछिल्लो समय करिब २० थरी औषधि उत्पादनमा सीमित रहेको अवस्थामा यसको पुनर्जीवनका लागि स्वदेशी औषधिको बजार हिस्सा ६० प्रतिशत पुर्याउने र असल उत्पादन अभ्यास लागू गर्ने लक्ष्यसहित पाँचवर्षे रणनीतिक योजना तयार गरी कार्यान्वयनको सुरुवात गरिएको उनको भनाइ छ।
उनले आयुर्वेदको विकासका लागि आफ्नो कार्यकालका अन्य मुख्य उपलब्धिहरू सार्वजनिक गरेका छन् भने सरकारलाई ६ सुझाव दिएका छन् ।
आफ्नो कार्यकालका मुख्य उपलब्धिहरू :
१. बुढानीलकण्ठ ‘पञ्चकर्म तथा योग केन्द्र’ सञ्चालन (अर्थबाट दरबन्दी स्वीकृत) र सुदूरपश्चिमबाट ‘स्वर्ण बिन्दु प्राशन’ अभियान सुरु गर्दै निर्देशिका स्वीकृत।
२. सेवा नपुगेका १४४ सहित सबै पालिकामा ‘नागरिक आरोग्य कार्यक्रम’ विस्तार; बजेट दोब्बर गरी १ अर्ब ४० करोड विनियोजन तथा ५/१०/१५ शय्यामा योग/प्राकृतिक चिकित्सा सञ्चालन कार्यविधि।
३. निर्यात प्रवर्द्धनका लागि जीएमपी नीति (४ स्वदेशी कम्पनीलाई मान्यता, फर्मासिस्टलाई थोक बिक्रेता) र ‘सोवा रिग्पा’ विद्यार्थीलाई लाइसेन्स परीक्षामा समावेश।
४. ‘ड्रग आर एन्ड डी युनिट’, ‘वनस्पति प्राधिकरण’ र ‘आयुर्वेद अध्ययन प्रतिष्ठान’ स्थापना सुरु। ‘आयुर्वेद औषधि नियमावली २०८१’ सहित कानुन मस्यौदा र ३५ निःशुल्क औषधि वैद्यखानाबाटै किन्ने नीति।
५. नरदेवीमा १०० शय्याका लागि स्रोत सुनिश्चितता, सेनाको अस्पताल र १६औँ पञ्चवर्षीय योजनामा आयुर्वेद समावेश।
६. छिमेकी देशसँग समझदारी, डब्ल्यूएचओ र बीआईएमएसटीईसीमा प्रस्तुति तथा नर्वे (बीसीईपीएस) सँग मिलेर स्वास्थ्य बिमामा समेट्न कस्टिङ अभ्यास सुरु।
सरकारलाई ६ सुझाव
१. वैद्यखानाको प्रगति त्यही ‘५ वर्षे रणनीतिक योजना’कै प्रतिफल भएकाले यसको हुबहु कार्यान्वयन गरियोस्।
२. ‘जडीबुटी प्रशोधन केन्द्र’ स्थापनालाई हामीले सुरु गरेको ‘ड्रग आर एन्ड डी युनिट’सँग जोडेर अनुसन्धानमा राज्यले विशेष लगानी गरोस्।
३. ३५ निःशुल्क औषधिलाई १४४ नयाँसहित देशभरिका ‘नागरिक आरोग्य केन्द्र’मार्फत जनताको घरदैलोमा पुर्याइयोस्।
४. जीएमपी मापदण्ड हासिल गरेपछि अन्तर्राष्ट्रिय बजारमा नेपाली औषधि निर्यात गर्न कूटनीतिक पहल चुस्त बनाइयोस्।
५. कच्चा पदार्थ खरिदलाई व्यवस्थित गर्दै जडीबुटी खेतीलाई विशेष प्रोत्साहन गरियोस्।
६. विपन्नको पहुँच सुनिश्चित गर्न आयुर्वेदका विशिष्टीकृत सेवा र औषधिलाई स्वास्थ्य बिमामा आबद्ध गरियोस्। असल नीतिको निरन्तरताले मात्र समृद्ध राष्ट्र बन्ने भन्दै उनले सरकारका सकारात्मक कदममा सदैव साथ रहने प्रतिबद्धता जनाएका छन्।




प्रतिक्रिया