फ्रान्समा डढेलोबाट दोस्रो विश्वयुद्धयताकै ठूलो क्षति, आगो लगाएको आरोपमा ४२० जना पक्राउ

फ्रान्समा डढेलोबाट दोस्रो विश्वयुद्धयताकै ठूलो क्षति, आगो लगाएको आरोपमा ४२० जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– फ्रान्समा यस वर्ष डढेलोले दोस्रो विश्वयुद्धयताकै सबैभन्दा ठूलो क्षति पुर्‍याएको छ । यसको प्रमुख कारण जलवायु परिवर्तन हो।

मानवजातिले जीवाश्म इन्धन जलाउने क्रम बढाएसँगै जलवायु परिवर्तन भइरहेको तथ्य राम्रोसँग प्रमाणित भइसकेको छ। तापक्रम निरन्तर बढिरहेको छ।

तर फ्रान्समा भएका डढेलोसम्बन्धी तथ्यांकले १० मध्ये ९ वटा डढेलो मानिसकै कारण सुरु हुने देखाएपछि पेरिस सरकारले दोषी पहिचान गर्ने प्रयास थालेको छ। यद्यपि अहिले गर्मीयाममा ३ लाख एकडभन्दा बढी क्षेत्रफल डढेलोले जलेर नष्ट भइसकेको अवस्थामा सरकार आफैं पनि यस्ता भीषण आगलागी नियन्त्रणका लागि पर्याप्त तयारी नगरेको आरोप खेपिरहेको छ।

फ्रान्सको गृह मन्त्रालयले जानाजानी वा दुर्घटनावश डढेलो लगाएको आरोप लागेका ४२० जनालाई पक्राउ गरिएको जनाएको छ। पक्राउ पर्नेमा १६६ जना नाबालिग समेत छन्।

एउटा घटनामा दक्षिण–पूर्वी फ्रान्सको वार क्षेत्रमा २३ वर्षीय एक युवकले गत महिना पाँच दिनभित्र जानाजानी १० वटा डढेलो लगाएको आरोप लागेको छ। दोषी ठहर भएमा उनले १५ वर्षसम्मको जेल सजाय र १ लाख ५० हजार युरो (करिब १ लाख २८ हजार पाउन्ड) जरिवाना तिर्नुपर्ने हुन सक्छ।

त्यस्तै, अन्य कतिपय व्यक्तिमाथि मुद्दा चलाएर तत्कालै सजाय सुनाइएको छ। भो’ज क्षेत्रको राओँ–ले–ताप जंगलमा हालै तीन वटा डढेलो लगाएको आरोपमा एक व्यक्तिलाई तीन वर्षको जेल सजाय सुनाइएको छ।

तर केही अभियोजन र सजायलाई भने अत्यधिक कठोर र अन्यायपूर्ण भन्दै आलोचना गरिएको छ। चुरोटको ठुटो फ्याँकेको आरोपमा एक घरबारविहीन व्यक्ति र गम्भीर अटिजम भएका एक व्यक्तिलाई समेत जेल सजाय सुनाइएको बताइएको छ।