क्युबा पुगेर प्रदीप ज्ञवालीले भनेः जेन्जीका नाममा नेपालमा बाह्य हस्तक्षेप भयो

क्युबा पुगेर प्रदीप ज्ञवालीले भनेः जेन्जीका नाममा नेपालमा बाह्य हस्तक्षेप भयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–एमाले विदेश विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले जेन्जी आन्दोलनको नाममा नेपालमा बाह्य हस्तक्षेप भएको आरोप लगाएका छन् ।

विश्वका कम्युनिस्ट र लेबर पार्टीहरूको २५औँ अन्तर्राष्ट्रिय बैठकलाई क्युबामा सम्बोधन गर्दै पूर्वपरराष्ट््मन्त्रीसमेत रहेका ज्ञवालीले नेपालको आन्तरिक मामिलामा बाह्य शक्तिले खेलेको आरोप लगाए ।

जेन्जी आन्दोलनपछि मुलुक राजनीतिक अस्थिरतामा फसेको र भविष्यमा हालको भन्दा खराब अवस्था आउन सक्नेतर्फ आफूहरु चिन्तित रहेको उनको भनाइ थियो ।

‘हाम्रो आन्तरिक असन्तोषलाई उपयोग गरेर बाह्य शक्तिले हस्तक्षेप गरे’, उनले भने, ‘नेपाललाई राजनीतिक अस्थिरतामा धकेल्न भएको यस्तो हस्तक्षेपबाट हामी निकै चिन्तित छौं ।’


जेनजीका नाममा सुरु भएको हिंसात्मक आन्दोलनबाट नेपालले धेरै ठूलो बिनास भोग्नुपरेको उनले बताए ।

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संसद् भवनसहित धेरै सार्वजनिक तथा लोकतान्त्रिक संस्थामाथि आगजनीमार्फत धाबा बोलिएको उनको भनाइ थियो ।

आगजनीको बलमा जननिर्वाचित संसद् विघटन भएको र सरकार गिरेको भन्दै उनले भविष्यमा यस्तै नजिर बस्ने हो कि भन्ने चिन्ता रहेको उल्लेख गरे ।

ज्ञवालीले क्युबाले अन्तर्राष्ट्रिय नाकाबन्दीको साहसका साथ सामना गरिरहेको भन्दै प्रशंसा गरे ।

ज्ञवालीले बदलिँदो विश्व शक्ति–संघर्षलाई जनताको पक्षमा उपयोग गर्न वामपन्थी दलहरुबीच विश्वव्यापी सहकार्यमा जोड दिए ।