काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कार विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
कार्यक्रमअन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एक पटक केन्द्रीय पार्टी कार्यालयमा अनिवार्य रूपमा उपस्थित भई नागरिक तथा पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नेछन्।
यसमार्फत नागरिकका समस्या, गुनासा, सुझाव र अपेक्षालाई राज्यको नीति निर्माण तथा कार्यान्वयनसँग जोड्ने लक्ष्य राखिएको छ।
कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा साँझ ५ बजेदेखि ६ बजेसम्म एक घण्टा ‘नागरिक संवाद’ हुनेछ। उक्त समयमा आम नागरिकले मन्त्रीसमक्ष प्रत्यक्ष रूपमा आफ्ना समस्या, गुनासा, अपेक्षा तथा सुझाव राख्न सक्ने रास्वपाका सहमहामन्त्री असिम शाहले जानकारी दिए ।
त्यसपछि साँझ ६ बजेपछि ‘नेतृत्व संवाद’ सञ्चालन हुनेछ। यस चरणमा सम्बन्धित मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यबीच संयुक्त बैठक हुनेछ। नागरिक संवादबाट प्राप्त सुझाव तथा देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयमा बैठकमा छलफल गरिनेछ।
रास्वपाले कार्यक्रममार्फत नागरिक, सरकार, व्यवस्थापिका र पार्टी संगठनबीच समन्वयलाई प्रभावकारी बनाउने जनाएको छ। नागरिकका मुद्दालाई सम्बोधन गर्न साझा रणनीति निर्माण गर्ने, मन्त्रीहरूलाई आम नागरिकप्रति प्रत्यक्ष जवाफदेही बनाउने तथा नागरिकका वास्तविक समस्या बुझेर राष्ट्रिय नीति र कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने कार्यक्रमको उद्देश्य रहेको छ।





प्रतिक्रिया