ट्रम्पको १५ बुँदे शान्ति योजना इजरायलद्वारा अस्वीकार, हमास निःशस्त्र नभएसम्म गाजाबाट सेना फिर्ता नहुने

ट्रम्पको १५ बुँदे शान्ति योजना इजरायलद्वारा अस्वीकार, हमास निःशस्त्र नभएसम्म गाजाबाट सेना फिर्ता नहुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजासम्बन्धी १५ बुँदे शान्ति योजना अस्वीकार गरेका छन् ।

१५ बुँदे शान्ति योजना अस्वीकार गर्दै हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म इजरायली सेना गाजाबाट फिर्ता नहुने बताएका हुन्।

ट्रम्पको ‘बोर्ड अफ पिस’ले गत महिना गाजामा हमास र अन्य सशस्त्र समूहलाई ‘पूर्ण रूपमा निःशस्त्र’ बनाउने विषयमा सहमति भएको जनाएको थियो।

तर हमासले आफ्ना भारी हतियार बुझाउने विषय इजरायलले सबै प्रकारका आक्रमण अन्त्य गरी गाजाबाट आफ्ना सेना फिर्ता गरेपछि मात्र सम्भव हुने बताउँदै आएको छ।

गत अक्टोबरमा गाजामा प्रारम्भिक युद्धविरामका लागि सहमति भए पनि इजरायलले त्यसयता गाजामा आक्रमण जारी राखेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा नेतन्याहुले भने, ‘इजरायलले १५ बुँदे दस्तावेज अस्वीकार गर्छ।’

उनले हमास वास्तविक रूपमा निःशस्त्र नभएसम्म इजरायली सेनाले गाजाबाट कुनै पनि फिर्ती नगर्ने बताएको बीबीसीले जनाएको छ । साथै, इजरायली सेना र नागरिकमाथिका सम्भावित खतरालाई रोक्ने अभियान जारी रहने उनको भनाइ थियो।

यता, हमासका एक अधिकारीले आइतबार बीबीसीसँग कुरा गर्दै समूहले उक्त सम्झौताप्रतिको आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको बताए। उनले हमास १५ बुँदे योजना कार्यान्वयन गर्न गम्भीर र जिम्मेवार ढंगले अघि बढ्न तयार रहेको बताए।

हमासले मध्यस्थकर्ताहरूलाई सहमत भएका विषयमा सबै पक्षले पालना गर्ने सुनिश्चित गर्न पनि आग्रह गरेको छ।

इजरायलको पछिल्लो अस्वीकृतिले गत वर्ष सेप्टेम्बरमा घोषणा गरिएको ट्रम्पको गाजा शान्ति योजनालाई थप धक्का पुगेको संकेत गरेको छ।

उक्त योजनामा सम्झौताको कार्यान्वयनको निगरानी गर्न ‘बोर्ड अफ पिस’ गठन गर्ने, हमासलाई निःशस्त्र बनाउने, गाजाबाट इजरायली सेना फिर्ता गर्ने तथा गाजाको पुनर्निर्माण गर्ने विषय समावेश थिए।