काठमाण्डु– नुवाकोट पञ्चकन्या गाउँपालिकाका ३३ जना पदाधिकारी तथा सदस्यहरूले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सामूहिक राजीनामा दिएका छन् ।
राप्रपाभित्र देखिएको वैचारिक विचलन, स्वेच्छाचारी प्रवृत्ति र गुटबन्दीबाट आजित भएको भन्दै उनीहरुले आइतबार सामूहिक राजीनामा दिएका हुन् ।
राप्रपा परित्याग गर्ने स्थानीय नेताहरूले अध्यक्ष राजेन्द्र लिङदेनले एउटै विचार, सिद्धान्त र एजेण्डामा कटीबद्ध सहयात्रीहरूलाई समेट्न नसकेको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।
स्रोतका अनुसार राप्रपा परित्याग गर्नेहरू डा. धवलशम्सेर राणा सभापति रहने प्रस्तावित जय नेपाल पार्टीमा आवद्ध हुनेछन् ।
नुवाकोट राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको गृह जिल्ला हो ।
राप्रपाबाट राजीनामा गर्नेहरूमा पंचकन्या गाउँपालिकाका राप्रपा अध्यक्ष चक्र बहादुर कार्की, उपाध्यक्षहरू गीता मिजार र शंकर थापा, सचिव जयराम थापालगायत सदस्यहरू छन् ।
त्यसैगरी राप्रपाबाट अलग हुनेमा पञ्चकन्या गाउँपालिका वडा नं १ का अध्यक्ष मनोज कुमार राई, वडा नं ३ का अध्यक्ष राजु कार्की, वडा नं ४ का अध्यक्ष भक्त बहादुर अधिकारी र वडा नं ५ का अध्यक्ष कर्ण प्रसाद सिटौला लगायत पाँचै वडाका अन्य पदाधिकारी तथा सदस्यहरू छन् ।





प्रतिक्रिया