कांग्रेस इतरको भेलामा ७ प्रदेश र १६५ क्षेत्रका सभापतिलाई निम्तो

कांग्रेस इतरको भेलामा ७ प्रदेश र १६५ क्षेत्रका सभापतिलाई निम्तो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ७ प्रदेश, ७७ जिल्ला र १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रका सभापतिलाई सहभागी गराउने तयारी गरेको छ ।

पार्टीका संयोजक प्रा. डा. शशांक कोइरालाले प्रदेश कार्यसमितिहरूलाई पत्राचार गर्दै साउन २९ देखि ३१ गतेसम्म काठमाण्डुमा आयोजना गर्न लागिएको राष्ट्रिय भेलामा सहभागिताका लागि पत्र पठाएका हुन् ।

पत्रमा मुलुकको वर्तमान राजनीतिक अवस्था, लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथि देखिएका चुनौती तथा पार्टीभित्रको विवादलाई मध्यनजर गर्दै राष्ट्रिय भेला आयोजना गर्न लागिएको उल्लेख छ।

सबल, सक्षम र सुदृढ कांग्रेसले मात्रै वर्तमान चुनौतीको सामना गर्न सक्ने विगतका अनुभव रहेको भन्दै पार्टीको सम्पूर्ण एकता कायम गर्दै भावी कार्यदिशा तय गर्न भेलाको आयोजना गरिएको कांग्रेसले जनाएको छ।

भेलामा प्रदेश तथा जिल्लाबाट क्षेत्रीय सभापतिसहित महाधिवेशन प्रतिनिधि, पूर्वकेन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्वमन्त्री तथा सांसद, प्रदेश सभा क्षेत्रीय सभापति तथा महानगर, नगरपालिका र गाउँपालिका कार्यसमितिका सभापतिहरूलाई सहभागी गराउन प्रदेश कार्यसमितिहरूलाई अनुरोध गरिएको छ।

कोइरालाले भेलामा सक्रिय सहभागिताका लागि सबै प्रदेश कार्यसमितिलाई आग्रह गरेका छन्।