काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्कै व्यक्तिको अश्लील भिडियो ल्याएर आफूविरुद्ध भ्रम फैलाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले आफू संसद्मा अग्निपरीक्षा दिन उभिएको बताए ।
‘नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले गलत र भ्रामक सूचनाका कारणले आफूले पीडादायी घाँटी रेटिएर आत्महत्या गरेको इतिहास नेपाली राजनीतिमा जीवितै छ । आज त्यस्तै अवस्था ममाथि आइपरेको छ । ‘खाइ न पाइ छालाको टोपी लाई’ भन्ने उखान चरितार्थ भएको छ । आज ममाथि रक्सी खाएर जे मन लाग्यो त्यही बोल्यो, अश्लील भिडियोहरू आए’ भन्ने आरोप लगाइएका छन्,’ उनले भने ।
उनले जन्मदेखि अहिलेसम्म आफूले मदिराको एक थोपा पनि नखाएको बताए । उनले भने, ‘यही संसद्मा स्वास्थ्य विभाग छ, स्वास्थ्यकर्मी सहितको टोली छ र टोली राखियोस् । चिकित्सकको टोलीबाट मेरो शरीरको प्रत्येक अङ्ग जाँच गरियोस् । मेरो रगतदेखि छालासम्म परीक्षण गरियोस् । जन्मदेखि अहिलेसम्म मदिराको १ थोपा मात्रै मेरो शरीरमा कतै प्रयोग भएको र कतै देखियो भने म सांसद पदबाट राजीनामा दिन तयार छु । म राजीनामा दिन तयार छु ।’
उनले भ्रम फैलाउनेहरूको स्वास्थ्य परीक्षण गर्न माग गरेका छन् । ‘सामाजिक सञ्जालमा कतै भेटिएको कुनै अमुक अर्कै व्यक्तिको अश्लील भिडियो, यौन अश्लील भिडियो ल्याएर यो ज्ञानेन्द्र शाही हो भन्दै प्रचार गरिएको छ । उक्त भिडियो यदि मेरो हो भने जाँच गरियोस्, म राजनीतिक जीवनबाट संन्यास लिन्छु,’ उनले भने ।
उनले आफूविरुद्ध भ्रम फैलाउनेलाई कारबाही गर्न गृहमन्त्रीसँग माग गरेका छन् ।




प्रतिक्रिया