प्रचण्डको संसद् अनुभव : पुराना साथी कोही छैनन्, नयाँमा पोलिटिकल कल्चर नै छैन

प्रचण्डको संसद् अनुभव : पुराना साथी कोही छैनन्, नयाँमा पोलिटिकल कल्चर नै छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संसद्मा विगतका अनुभवी राजनीतिक नेताहरूको उपस्थिति नहुँदा आफूलाई कहिलेकाहीँ असहज महसूस हुने बताएका छन् ।

सोमबार सिंहदरबारमा संसदीय मामिलाका पत्रकारहरूसँगको भेटमा उनले पहिलाका साथीहरू नदेख्दा अनौठो महसूस हुने गरेको बताए ।

‘पहिलाका साथीहरू हेर्‍यो, कोही छैनन्, १–२ जना छन्, ती पनि लिडरशिपवाला छैनन्,’ उनले भने ।

विगतमा संसद्मा पूर्वप्रधानमन्त्री, अनुभवी नेता, प्रौढ र युवाहरूको मिश्रण हुने गरेको उनले सम्झिए । ‘नयाँ–पुराना, प्रौढ, सबैको, युवाहरूको सम्मिश्रण हुन्थ्यो,’ उनले भने, अहिले नयाँ–नयाँ छन्, पोलिटिकल कल्चर नै छैन ।’

प्रचण्डले अहिलेको संसद्मा राजनीतिक संवादको संस्कृति कमजोर भएको टिप्पणी गरे । राजनीतिक इतिहास, दर्शन र विचारधाराबारे पर्याप्त बुझाइ नभएका सांसदहरू धेरै रहेको उनको भनाइ थियो ।

संसद्मा कम उपस्थिति हुनुको कारणबारे उनलाई सञ्चारकर्मीले सोधेका थिए । जवाफमा उनले करिब २० वटा जति बैठक बिरामी भएका कारण छुटेको र केही दिन श्रीलंका गएकाले अनुपस्थित भएको बताए । संसद्मा आफ्नो उपस्थिति कम हुनुको कारण निराशा वा संसद्प्रति वितृष्णा नभएको स्पष्ट पारे ।

‘म एकचोटी बिरामी भएँ, बिमारीको कारणले म १५ दिन, २० दिन त मेरो त्यो त्यसैमा गयो, केही दिन म श्रीलंका गएँ, तपाईँहरूले थाहा पाइहाल्नुभयो, ४–५ दिन त्यता बस्दाखेरी पनि ढिला भयो,’ उनले भने ।

संसद्मा सबैभन्दा कम उपस्थित हुने सांसदको रूपमा आफ्नो नाम सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चामा आएको विषयमा उनले भने, ‘सबैभन्दा कम आउनेमा मेरो नाम भाइरल भयो ।’

डाक्टरहरूले आराम गर्न भनेपछि केही समय आराम गर्नुपरेको र त्यसपछि प्रदेश–प्रदेशमा पार्टीका कार्यक्रममा गएको उनले बताए ।

सबैभन्दा कम आउनेमा आफ्नो नाम आएपछि त्यसबारे बारेमा दोस्रोचोटी संसद् बैठकमा सम्बोधन गर्दा भनेको बताए । उनले आफू संसद्मा नआउनुको कारण संसद्प्रतिको निराशा नभएको दोहोर्‍याएका छन् ।