‘दशैंतिहारपछि बालेन सरकार जान्छ भन्ने त हावादारी कुरा हो तर यो सरकार धेरै जाँदैन’

‘दशैंतिहारपछि बालेन सरकार जान्छ भन्ने त हावादारी कुरा हो तर यो सरकार धेरै जाँदैन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको वर्तमान सरकार लामो समय यहीँ अवस्थामा अघि बढ्न नसक्ने टिप्पणी गरेका छन् ।

संसदीय मामिलामा रिपोर्टिङ गर्ने पत्रकारहरूसँग सोमबार सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा कुराकानी गर्दै प्रचण्डले बालेन नेतृत्वको सरकारलाई समुन्द्रमा कम्पास हराएको जहाजसँग तुलना गरे । उनले सरकारको राजनीतिक तथा वैचारिक दिशामाथि प्रश्न उठाए ।

प्रचण्डले सरकारलाई अपरिपक्व र वैचारिक–राजनीतिक दिशाविहीन भएको टिप्पणी गर्दै यही ढंगले अघि बढ्न नसक्ने दाबी गरे । ‘मुख्य कुरा के हो भने यो सरकार आफैँ अपरिपक्व छ, आफैँ वैचारिक राजनीतिक दिशाविहीन छ । त्यो चाहीँ समुद्रमा कम्पास हराएको जहाज जस्तो भएको हुनाले यो धेरै जाँदैन, यहीँ तरिकाले जान सक्दैन,’ उनले भने ।

प्रचण्डले बालेन सरकारको आयु नै तोकेर राजनीतिक वृत्तमा भइरहेका अड्कलबाजीलाई भने अस्वीकार गरे । उनका अनुसार कसैले दशैँतिहारपछि सरकार नजाने बताइरहेका छन् भने कसैले निश्चित मिति तोकेरै फेरि विध्वंश हुने दाबी गरिरहेका छन् । तर यस्ता दाबीलाई उनले मनोगत र हावादारीको संज्ञा दिए । ‘एकथरी चाहीँ दशैँतिहारभन्दा उता जाँदैन भन्नेहरूको नि ठूलै जमात देखिन्छ । अब त्यो बुझेर भन्छन् कि नबुझी भन्छन्,’ उनले भने, ‘यहीँ २८ गते विध्वंश हुन्छ है फेरि पनि भन्छन् कोही । तर ती कुरा चाहीँ सबै मनोगत, हावादारी नै कुरा हुन् जस्तो लाग्छ ।’

यसबाट प्रचण्डले सरकार तत्कालै कुन मितिमा ढल्छ भन्नेभन्दा पनि कार्यशैली र राजनीतिक कदमका  कारण सरकारको स्थायित्वमै प्रश्न उठेको टिप्पणी गरेका छन् ।

प्रचण्डले सरकार नेतृत्वकर्ता दल रास्वपाभित्रै अन्तरविरोध रहेको र त्यो प्रकट भइरहेको बताए । राजनीतिक संगठन र सरकारमा अन्तरविरोध हुनु स्वाभाविक भए पनि वर्तमान सरकारको वैचारिक तथा राजनीतिक दिशाहीनतासँगै आन्तरिक समस्या पनि रहेको उनको भनाइ छ । उनले सरकारको वर्तमान अवस्थालाई नयाँ जहाजसँग तुलना गर्दै त्यसको दिशा र सञ्चालनबारे समेत प्रश्न उठाए ।

प्रचण्डले बालेन नेतृत्वमा नयाँ सरकारको गतिविधिका कारण रास्वपाप्रति देखिएको राजनीतिक उत्साह अहिले क्रमश: रोकिँदै गएको दाबी गरे । सुरुका दिनमा पुराना दलबाट ठूलो संख्यामा रास्वपामा जाने अवस्था देखिए पनि करिब ४ महिनाको अवधिमा त्यो क्रम रोकिएको उनको दाबी छ । ‘पहिला जुन थियो नि ! सुरुमा झ्याप्पै केही हुन्छ कि भन्या जस्तो, मान्छे अब बाँकी रहेका पनि सबै सोरिएर जाने हुन् कि उतै भन्या जस्तो जो देख्या थियो, त्यस्तो अहिले रोकियो,’ उनले भने ।

प्रचण्डले आफू सातै प्रदेशमा पुग्दा जनताको राजनीतिक मनोविज्ञानमा परिवर्तन देखेको बताए । उनका अनुसार नयाँ राजनीतिक शक्तितर्फ गएका कतिपय मानिसहरू फेरि पुरानो राजनीतिक धारतर्फ फर्किने सोचमा देखिन थालेका छन् । ‘म सातै प्रदेशमा गएँ, सबैतिरको हेर्दा मान्छेले रियलाइज्ड गरिसकेको पाएँ । अब उतालाई यता फर्किने हो कि क्या हो भनेर उता गएकाहरू पनि फर्किनेतिर सोच्न थालेको देखिन्छ,’ उनले भने ।

प्रचण्डले बालेन नेतृत्वको सरकारको रबैयाका कारण रास्वपाप्रतिको आकर्षण मधेशमा समेत कमजोर हुँदै गएको दाबी गरेका छन् ।

उनका अनुसार मधेशमा कतिपय मानिसहरूले आफूहरूले गलत राजनीतिक विकल्प रोजेको महसूस गर्न थालेका छन् । ‘तराई–मधेशतिरको कुरा गर्ने हो भने त मधेशमा त मानिसहरू पश्चाताप नै गर्‍या छन् । गलत ठाउँमा हामी गइएछ भन्ने खालको सोचाइ, बुझाइ बन्न थालेको देखिन्छ ।’