काठमाण्डु – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विधान र पद्धतिविपरीत गलत बाटोबाट पार्टी कब्जा गर्ने प्रयास भइरहेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
काठमाण्डुमा सोमबार नेपाली कांग्रेस सिन्धु–काठमाण्डुले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिटौलाले गलत प्रवृत्तिले नेपाली कांग्रेसलाई मात्र नभई नेपालको लोकतान्त्रिक शासन पद्धतिलाई समेत गम्भीर असर पार्न सक्ने टिप्पणी गरे ।
उनले विशेष महाधिवेशनको पक्षमा रहेका नेता तथा पदाधिकारीहरूलाई निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरे । विशेष महाधिवेशनको नाममा पार्टीभित्र विधि र प्रक्रिया मिच्ने काम भइरहेको भन्दै उनले त्यसबाट पछि हट्न आग्रह गरे ।
सिटौलाले भने, ‘विशेष महाधिवेशनका तमाम साथीहरूलाई भन्न चाहन्छु – तपाईंहरूले पुनर्विचार गर्नुस् । गलत बाटोबाट पार्टी कब्जा गर्न पुग्नुभएको छ । त्यहीँ बाटोबाट हिँडिराख्नुभयो भने नेपाली कांग्रेस पार्टी मात्र होइन, नेपालको लोकतान्त्रिक शासन पद्धतिमा समेत गम्भीर असर पर्न सक्छ ।’
उनले क्रियाशील सदस्यहरूको नवीकरण प्रक्रियालाई निरन्तरता दिनुपर्ने भन्दै अद्यावधिक गर्ने नाममा अनावश्यक प्रक्रिया र नाटक गर्न आवश्यक नरहेको बताए । उनले भने, ‘१४औँ महाधिवेशनको क्रियाशील सदस्यलाई मान्यता दिनुस्, नवीकरणलाई निरन्तरता दिनुस् । अद्यावधिकको नाममा नाटक गर्न पर्दैन ।’
नेता सिटौलाले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन विधान, विधि र प्रक्रियाको पूर्ण पालना आवश्यक रहेकोमा जोड दिए । पार्टी सञ्चालनमा मनोमानी प्रवृत्ति हाबी भए त्यसले कांग्रेसको संगठनात्मक संरचनासँगै मुलुकको लोकतान्त्रिक प्रणालीमै नकारात्मक असर पार्ने उनले चेतावनी दिए ।




प्रतिक्रिया