वरिष्ठ साहित्यकार राजेन्द्र विमलको निधन

वरिष्ठ साहित्यकार राजेन्द्र विमलको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मैथिली र नेपाली साहित्यका वरिष्ठ साहित्यकार प्राडा राजेन्द्र विमलको निधन भएको छ।

७९ वर्षीय डा. विमलको उपचारको क्रममा मंगलबार बिहान जनकपुरस्थित अस्पतालमा निधन भएको हो ।

नेपाली र मैथिली, अंग्रेजी र हिन्दी भाषामा थुप्रै कृति, गीत, कथा र कविता लेखेका विमलको जन्म सन् १९४७ मार्च २६ मा जनकपुर–१० स्थित देवीचोकमा भएको थियो।

उनले नेपाली, हिन्दी र मैथिली विषयमा स्नातकोत्तर गरेका छन्। उनले भाषा विज्ञान विषयमा विद्यावारिधि गरेका थिए। डा विमल २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय अध्यापनमा पनि जोडिएका थिए।

कथालेखनमा लामो समयदेखि सक्रिय डा. विमल तराई–मधेशको सुरुचिपूर्ण कथामार्फत नेपाली आख्यान साहित्यमा महत्त्वपूर्ण योगदान दिएबापत मधुपर्क सम्मान २०७६ बाट सम्मानित भइसकेका छन्। उनलाई मिथिला क्षेत्रमा मैथिल भाषी विद्यार्थीलाई नेपाली भाषामा शिक्षित गराउने र नेपाली भाषामा अनेक ग्रन्थ रचना गरी नेपाली भाषा वाङमयलाई समृद्ध तुल्याएको भन्दै २०६६ को जगदम्बाश्री पुरस्कारद्वारा पनि सम्मानित गरिएको थियो।

डा. विमल १२ वर्षको छँदा नै उनको पहिलो लघुकथा आर्यावर्त हिन्दी दैनिकमा प्रकाशित भएको थियो। १५ वर्षको उमेरमा आर्यावर्तमै प्रकाशित ‘कचनार के पेंड’ कथा निकै लोकप्रिय भएको थियो। त्यसै वर्ष मिथिला मिहीर (मैथिली मासिक)मा ‘मुईल बच्चा’ कथा प्रकाशित भएको थियो। एसएलसी परीक्षापछिको फुर्सदको समयमा उनले ‘चान अहाँ उदास छी’ उपन्यास लेखेका थिए।

पारिवारिक सदस्यका अनुसार विमलको मंगलबार नै जनकपुरको स्वर्गद्वारीमा अन्त्येष्टि गरिनेछ।