काठमाण्डु– नेपाली कांग्रेसका सांसद भरतबहादुर स्वाँरले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने बताएका छन् ।
उनले सभामुखले पटक–पटक संसदमा उपस्थित हुन आग्रह गर्दासमेत प्रधानमन्त्रीले बेवास्ता गरेको आरोप लगाए ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै स्वाँरले प्रधानमन्त्री संसदमा उपस्थित नहुँदा सत्तापक्षका सांसदसमेत असहज अवस्थामा परेको टिप्पणी गरे ।
‘सत्तापक्षका माननीय सांसदज्यूलाई गाह्रो भएको छ भने प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन किन सक्नुहुन्न ? तपाईंहरूको मतले उहाँ प्रधानमन्त्री बन्नुभएको हो कि आफ्नै बलले ?’ उनले प्रश्न गरे ।
स्वाँरले प्रधानमन्त्री शाहले संसदमा ‘नेपालले पनि भारतको जमिन मिचेको’ भन्ने अभिव्यक्ति दिएकामा अझैसम्म माफी नमागेको भन्दै आपत्ति जनाए ।
स्वाँरले त्यस्तो अभिव्यक्तिका लागि प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्नेमा आफू चारैतिरबाट नाकाबन्दीमा परेको बताउन थालेको टिप्पणी गरे ।
उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतले नेपाली भूभाग मिचेको विषयमा प्रधानमन्त्री किन मौन रहेको भन्दै प्रश्न गरे ।
काठमाण्डु महानगरपालिकाको मेयर हुँदा शाहले आफ्नो कार्यकक्षमा अखण्ड नेपालको नक्सा राखेको स्मरण गर्दै स्वाँरले अहिले चुच्चे नक्साको विषयमा प्रधानमन्त्रीको धारणा बदलिएको हो ? भन्ने प्रश्न गरे ।
‘काठमाण्डु महानगरको मेयर हुँदा अखण्ड नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेको हामी सबैले देखेका हौं’, उनले भने, ‘ तर, आज चुच्चे नक्सा मेटाएर एक रुपैयाँको सिक्का छाप्नुपर्ने के अवस्था उहाँमाथि आइपर्यो ?’
प्रधानमन्त्रीले आफू चारैतिरबाट घेराबन्दीमा परेको बताएको प्रसंग उल्लेख गर्दै स्वाँरले करिब दुई तिहाइ बहुमतको सरकार सञ्चालन गरिरहेको अवस्थामा यस्तो गुनासो गर्नुले सत्तापक्षलाई नै असहज बनाएको टिप्पणी गरे ।
बैठकमा उनले सत्तापक्षका सांसदबाट उठाइने ‘३५ वर्षमा के भयो ?’ भन्ने प्रश्नको पनि जवाफ दिए ।
३५ वर्षको अवधिमा देशमा भएको विकासबारे ३–४ मिनेटमा व्याख्या गर्न नसकिने भन्दै उनले सभामुखले कम्तीमा ३–४ घण्टाको समय दिए विस्तृत रूपमा प्रस्तुत गर्न सक्ने बताए ।
भ्रष्टाचार छानबिनका विषयमा पनि स्वाँरले कसैलाई नछुटाई सबैमाथि अनुसन्धान गर्नुपर्ने धारणा राखे । ‘भ्रष्टाचार छानबिन गर्ने हो भने सबैका जग्गा–जमिन, सुनचाँदीका फाइल खोलौं,’ उनले भने ।




प्रतिक्रिया