काठमाण्डु– देशभर खाना पकाउने ग्यासको अभाव देखिएका बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद् गोपाल शर्माले सरकारले तत्काल वैकल्पिक व्यवस्थातर्फ ध्यान दिनुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले ग्यास अभावका कारण सर्वसाधारण समस्यामा परिरहेको उल्लेख गर्दै विद्युतीय चुलोलगायतका विकल्पलाई सरकारले प्रोत्साहन गर्नुपर्ने सुझाव दिए ।
उनले ग्यास अभावजस्तो जनजीविकासँग प्रत्यक्ष जोडिएको समस्या देखिँदासमेत प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्मा उपस्थित नभएको विषयलाई पनि जोडेर टिप्पणी गरे ।
‘अहिले देशमा ग्यासको हाहाकार भएको छ । प्रधानमन्त्रीज्यू गुप्तवासमा हुनुहुन्छ । उहाँलाई यो ग्यासको हाहाकारबारे थाहा नहुन सक्छ,’ शर्माले भने ।
ग्यासको विकल्पमा विद्युत्को प्रयोग बढाउन सरकारले आवश्यक नीति तथा कार्यक्रम ल्याउन उनले सरकारलाई सुझाए ।
संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुन नसकेको तथा प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिएको विवादास्पद अभिव्यक्तिबारे स्पष्ट जवाफ नआएको भन्दै शर्माले सभामुखको ध्यानाकर्षण गराए ।
उनले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनसमेत सभामुखसँग आग्रह गरे ।




प्रतिक्रिया