काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले पैसा भएर पनि बजारमा खाना पकाउने ग्यास नपाउने अवस्थामाथि सरकारसँग प्रश्न गरेकी छन् ।
उनले पहुँच हुनेहरूले सहजै ग्यास पाउने तर सर्वसाधारण खाली सिलिन्डर बोकेर भौंतारिनुपर्ने अवस्थाप्रति प्रतिनिधिसभामा प्रश्न उठाइन् ।
मंगलबार प्रतिनिधिसभाको शून्य समयमा उनले ग्यास अभावको विषयलाई कवितामार्फत उठाउँदै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
तामाङले बजारमा ग्यास नपाउँदा सर्वसाधारणको भान्सा प्रभावित भएको तर पहुँच भएका व्यक्तिले भने छानीछानी एकैपटक तीन वटासम्म सिलिन्डर लैजाने गरेको प्रसंग कवितामार्फत प्रस्तुत गरिन् ।
‘हातमा छ क्यास, तर बजारमा छैन ग्यास’ भन्दै उनले ग्यासको अभावले सर्वसाधारणको दैनिकीमा परेको असर चित्रण गरिन् ।
ग्यासका लागि नागरिकले रातदिन सडकमा खाली सिलिन्डर बोकेर बस्नुपरेको भन्दै उनले सरकारको आपूर्ति व्यवस्थामाथि पनि प्रश्न उठाइन् ।
काठमाडौंको थानकोटबाट खाली सिलिन्डर बोकेर बालाजु र टेकुसम्म पुग्नुपर्ने अवस्थालाई उनले कवितामा समेटिन् । ग्यास खोज्न टाढासम्म धाउनुपर्दा नागरिकले भोग्नुपरेको पीडा सरकारले बुझ्नुपर्ने उनको भनाइ थियो ।
सरकारले ग्यास पर्याप्त हुने बताउँदै आए पनि नागरिकले त्यसको अनुभूति गर्न नपाएको उनको टिप्पणी थियो। ग्यास अभावलाई तत्काल सम्बोधन गर्नुपर्ने माग गर्दै उनले सरकारको ध्यानाकर्षण गराइन् ।
कविताको अन्त्यमा तामाङले आफ्नै भूगोल र जनजीवनसँग जोड्दै सहज रूपमा ग्यास भर्ने अवस्था कहिले आउँछ भन्ने प्रश्नसमेत उठाइन् ।




प्रतिक्रिया