वैदेशिक रोजगार व्यवसायी संघको आन्दोलन फिर्ता

वैदेशिक रोजगार व्यवसायी संघको आन्दोलन फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयसँग भएको छलफलपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।

संघले साउन २२देखि विभिन्न माग राख्दै आन्दोलन गर्दै आएको थियो भने भदौ ७ गतेदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउनसमेत रोक्ने चेतावनी दिएको थियो ।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार श्रममन्त्री, मन्त्रालयका सचिव तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीबीच भएको छलफलमा संघले अघि सारेका १५ बुँदे मागबारे विस्तृत छलफल भएको हो ।

छलफलका क्रममा संघले उठाएका अधिकांश विषय वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनसँग सम्बन्धित नीतिगत विषय रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यादित बनाउने उद्देश्यसहित ऐन तथा नियमावली संशोधनको प्रक्रिया यथाशीघ्र टुंग्याउन अधिकतम प्रयास गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

त्यस्तै, व्यवसायीहरूले कानुनबमोजिम थप प्रमाण र कागजातसहित आफ्ना समस्या वैदेशिक रोजगार विभागमा पेस गरेमा विभागबाट आवश्यक प्रशासनिक सहजीकरण गरिने र त्यहाँबाट समाधान नभए मन्त्रालयमा पुनरावेदन दिन सकिने व्यवस्था रहेको विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

संघले वैदेशिक रोजगार व्यवसाय सञ्चालनसँग सम्बन्धित नीतिगत तथा प्रशासनिक जटिलता समाधान गर्न माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । आन्दोलनकै क्रममा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएपछि वैदेशिक रोजगार क्षेत्र र श्रमिकबीच अन्योल बढेको थियो ।