काठमाण्डु – आफ्नो दिमागलाई ठूलो, तीक्ष्ण र बलियो बनाउने धेरै उपाय छन । तर के तपाईंलाई थाहा छ, तीमध्ये सबैभन्दा राम्रो उपायमध्ये एउटा के हो ? थाहा छैन भने यसको जवाफ हो-नृत्य ।
नाच्नु दिमागलाई बलियो बनाउने उत्कृष्ट उपायमध्ये एक हो । यसमा तपाईंको पूरै शरीरको प्रयोग मात्र हुँदैन, दिमागका अधिकांश भाग पनि सक्रिय हुन्छन् ।
यो केही हदसम्म जोगिङ गर्नु र सँगसँगै सुडोकु खेल्नुजस्तै हो । यहाँ नृत्यले तपाईंको दिमागलाई परिवर्तन गरेर अझ बलियो बनाउने चार तरिका बताइएको छ ।
निश्चय नै नाच्नु सजिलो काम होइन । अझ हप्तैपिच्छे नाचिरहन प्रेरित भइरहनु त झनै कठिन हुन्छ ।
तर विज्ञहरूका अनुसार नृत्य तपाईंको दिमागका लागि अन्य कुनै पनि व्यायामभन्दा बढी प्रभावकारी हुन सक्छ ।
डा. चेन पूर्व व्यावसायिक नर्तक हुन् र उनी यसको कारण बताउँछन् । उनका अनुसार यदि हामी केवल आफ्ना मांसपेशीको व्यायाम गरिरहेका छौँ, जस्तै ट्रेडमिलमा दौडिरहेका छौँ वा तौल उठाइरहेका छौँ भने समयसँगै यो केवल एक प्रकारको यान्त्रिक मांसपेशी स्मृति बन्न जान्छ । यसमा तपाईंले आफ्नो दिमागलाई त्यति चुनौती दिइरहनुभएको हुँदैन ।
‘तर नृत्य गर्दा तपाईंले लगातार दिमागका विभिन्न भागको प्रयोग गरिरहनुभएको हुन्छ । जसरी शरीरलाई फिट बनाउन व्यायाम गर्छौँ, त्यसैगरी दिमागलाई पनि आकार दिन सकिन्छ । यसमा तपाईंको सम्पूर्ण जीवन परिवर्तन गर्ने, नयाँ सम्बन्धहरू निर्माण गर्ने र आफूलाई पुनः व्यवस्थित गर्ने अद्भुत क्षमता हुन्छ । यसलाई न्यूरोप्लास्टिसिटी भनिन्छ । र नृत्य दिमागका लागि उत्कृष्ट व्यायाम हो’, उनले भने ।
अनुसन्धानले देखाएको छ कि नृत्य गर्दा ग्रे म्याटर र ह्वाइट म्याटर दुवै बढ्छन् । तपाईंका न्युरोनहरू ठूला र अझ प्रभावकारी हुन्छन् । यसलाई सजिलो भाषामा बुझौँ ।
दिमाग न्युरोन नामका कोषिकाहरूबाट बनेको हुन्छ । दिमागको तन्तु यिनैबाट बनेको हुन्छ । प्रत्येक न्युरोनको एउटा मुख्य भाग हुन्छ, जसले नियन्त्रण केन्द्रको काम गर्छ । यी सबै मिलेर दिमागको बाहिरी तहमा ग्रे म्याटर बनाउँछन् । यहीँ जानकारी प्राप्त हुन्छ र त्यसको प्रशोधन हुन्छ । न्युरोनको पुच्छर वा एक्सन ले ह्वाइट म्याटर बनाउँछ ।
यो मुख्य जोड्ने तन्तु हो र यसले दिमागका विभिन्न भाग तथा शरीरका बाँकी भागमा सन्देश पठाउँछ । त्यसैले नृत्यले वास्तवमा दिमागका यी सबै तन्तुको विकास गर्न सक्छ । वैज्ञानिकहरूले नियमित व्यायामले दिमागलाई बलियो बनाउने एउटा अत्यन्तै उपयोगी तत्वको उत्पादन बढाउने पनि पत्ता लगाएका छन् ।
जब तपाईं नाच्नुहुन्छ वा सामान्य रूपमा व्यायाम गर्नुहुन्छ, तपाईंको शरीरले ‘ब्रेन–डिराइभ्ड न्यूरोट्रोफिक फ्याक्टर’ नामक हर्मोन उत्पादन गर्छ । यसले वास्तवमा दिमागका कोषिकाका लागि मलको काम गर्छ । यसले दिमागका कोषिकाहरूलाई वृद्धि हुन मद्दत गर्छ र न्यूरोप्लास्टिसिटीमा पनि सहयोग पुर्याउँछ ।
मानिसको दिमाग करिब ८६ अर्ब न्युरोनबाट बनेको हुन्छ । प्रत्येक न्युरोनले तपाईंले के गरिरहनुभएको छ भन्ने आधारमा एक सेकेन्डमा १ देखि २०० पटकसम्म संकेत पठाउन सक्छ ।
यी न्युरल सन्देशहरू विद्युतीय तरंगजस्ता हुन्छन्, जुन आँखा झिम्क्याउनुभन्दा पनि छिटो एक ठाउँबाट अर्को ठाउँमा पुग्छन् ।
अनुसन्धानले नृत्य गर्दा यी सन्देशको आदानप्रदान गर्ने प्रक्रिया अझ प्रभावकारी हुने देखाएको छ ।
डा. जुलिया बेसलले नर्तकहरूले वास्तविक समयमा नाचिरहेका बेला विशेष क्याप प्रयोग गरेर उनीहरूको दिमागको गतिविधि मापन गर्दा यो कुरा देखेकी छन् ।
उनका अनुसार तपाईंले वरपर कसैलाई नाचिरहेको देख्दा दिमागको एउटा भागबाट अर्को भागमा सूचनाको प्रवाह तीव्र हुन सक्छ । यसले नयाँ कुरा सिक्ने र सम्झने क्षमता, राम्रोसँग सोच्ने तथा बुझ्ने क्षमता र भावनात्मक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ।
‘तपाईंको दिमागले तपाईंको शरीरलाई नियन्त्रण गर्छ । त्यसैले यदि तपाईंका न्युरोनहरूले राम्रोसँग सञ्चार गर्छन् भने त्यसको प्रभाव तपाईंले गर्ने हरेक काममा पर्न सक्छ । यसले समन्वय क्षमता सुधार गर्छ। कुराकानी र बोलाइमार्फत अरूलाई प्रतिक्रिया दिने हाम्रो तरिका राम्रो हुन्छ । यहाँसम्म कि गणितका प्रश्नको उत्तर दिने वा समस्या समाधान गर्ने हाम्रो क्षमता पनि सुधार हुन्छ’ डा. जुलिया भन्छिन् ।
यस्तो हुनुको कारण दिमागले तपाईंको मनोदशा सुधार गर्ने विभिन्न हर्मोनको मिश्रण उत्पादन गर्नु हो ।
यी त्यही हर्मोन हुन्, जसका बारेमा तपाईंले सायद सुन्नुभएको होला–जस्तै एन्डोर्फिन, शरीरको प्राकृतिक पीडानाशक; डोपामिन र सेरोटोनिन, यी दुवै प्राकृतिक रूपमा मनोदशा सुधार गर्ने हर्मोन हुन् ।
र यदि तपाईं अरू मानिससँग मिलेर नाचिरहनुभएको छ भने तपाईंको शरीरमा अक्सिटोसिन पनि उत्पादन हुन्छ, जसलाई ‘बन्डिङ हर्मोन’ भनिन्छ । तपाईं नृत्यजस्ता गतिविधिमा जति धेरै सहभागी हुनुहुन्छ, तपाईंको दिमाग त्यसलाई फेरि गर्न त्यति नै उत्सुक हुन्छ, बरु त्यसको चाहना नै गर्न थाल्छ ।
हामी नृत्यमा जति धेरै सहभागी हुन्छौँ र यी न्यूरोकेमिकल्सको सम्पर्कमा आउँछौँ, त्यति नै ती अनुभव दोहो¥याउन र ती अनुभूति महसुस गर्न चाहन्छौँ ।
यही एउटा कारण हो, मानिसहरू पटक–पटक डान्स फ्लोरमा फर्किरहन्छन् । तपाईंले अहिले नै आफ्नो ठूलो, तीक्ष्ण दिमागको प्रभाव नदेख्न सक्नुहोला, तर उमेर बढ्दै जाँदा यो निकै महत्त्वपूर्ण हुन सक्छ ।
उमेर बढ्दै जाँदा हाम्रा न्युरोनहरू प्राकृतिक रूपमा मर्न थाल्छन् । यसले पार्किन्सन्स र अल्जाइमरजस्ता रोग निम्त्याउन सक्छ ।
अनुसन्धानले नृत्यले डिमेन्सियाको जोखिम कम गर्न सक्ने देखाएको छ ।
पार्किन्सन्स र अल्जाइमरजस्ता रोगको पूर्ण उपचार छैन । त्यसैले यसबाट बच्ने प्रयास गर्नु नै महत्त्वपूर्ण हुन्छ । यसको राम्रो उपाय के हो ? ठूलो न्युरल रिजर्भ निर्माण गर्नु ।
तपाईं यसलाई बचत खाताजस्तै बुझ्न सक्नुहुन्छ । नयाँ कुरा सिक्नु, कठिन काम गर्नु वा नृत्य गर्नु–यी सबै तपाईंको ‘सेभिङ्स बैंक’मा पैसा जम्मा गर्नुजस्तै हुन् ।
यदि तपाईंसँग केवल १०० डलर छन् र कुनै ठूलो समस्या आइप¥यो भने तपाईं ऋणमा डुब्न सक्नुहुन्छ । तर यदि तपाईंसँग, मानौँ, १० लाख डलर छन् भने अवस्था फरक हुन्छ ।
कग्निटिभ रिजर्भको अर्थ पनि यस्तै हो। तपाईंको कग्निटिभ रिजर्भ राम्रो छ भने तपाईंसँग प्रशस्त ‘पैसा’ अर्थात् न्युरल रिजर्भ हुन्छ ।
धेरै न्युरोन हुनुको अर्थ सन्देश पठाउन तपाईंसँग धेरै बाटो हुनु हो, केवल एक वा दुईवटा होइन । त्यसैले केही न्युरोन मरे पनि तपाईंले अन्य बाटो प्रयोग गरेर तिनलाई बाइपास गर्न सक्नुहुन्छ ।
सम्भवतः यी बाटा अरू मानिससँग नहुन सक्छन्, तर तपाईंसँग हुन सक्छन्, किनकि तपाईंले वर्षौँदेखि ती बाटा निर्माण गर्नुभएको हुन्छ । वैज्ञानिक प्रमाणहरूले नृत्यले यस्तै प्रभाव पार्ने देखाएका छन् ।
अनुसन्धानकर्ताहरूले विभिन्न फुर्सदका गतिविधि र डिमेन्सियाको जोखिमबीचको सम्बन्धको अध्ययन गरेका छन् । यस अध्ययनमा पौडी खेल्ने, हिँड्ने वा घरायसी काम गर्नेजस्ता ११ प्रकारका शारीरिक गतिविधिको प्रभाव हेरिएको थियो । नृत्य मात्रै यस्तो गतिविधि थियो, जसले डिमेन्सियाको जोखिम कम गरेको पाइयो ।
उमेर बढ्दै जाँदा दिमाग कमजोर हुन थाल्छ र नृत्यले यसलाई रोक्न मद्दत गर्न सक्छ । यसले सोच्ने र बुझ्ने क्षमता बढाउन, दिमागको स्वास्थ्य सुधार गर्न, न्युरोनको विकास गर्न तथा उमेर बढ्दै जाँदा कम हुन सक्ने न्यूरोट्रान्समिटरको स्तर बढाउन सहयोग गर्न सक्छ ।
यसका अतिरिक्त, जुनसुकै उमेरमा नृत्य सुरु गर्नु पनि फाइदाजनक हुन्छ, किनकि न्यूरोप्लास्टिसिटी जीवनभर कायम रहन्छ ।




प्रतिक्रिया