३५० रुपैयाँको सामान किनेका उपभोक्ताले पाए ‘बम्पर’मा १० लाख पुरस्कार

३५० रुपैयाँको सामान किनेका उपभोक्ताले पाए ‘बम्पर’मा १० लाख पुरस्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउनको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरिएको छ। आन्तरिक राजस्व विभागले सोमबार अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी पुरस्कार विजेताको नाम सार्वजनिक गरेको हो।

साउन १६ देखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा सहभागी उपभोक्तामध्ये एक जनाले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जितेका छन्। गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्ता बम्पर पुरस्कारका विजेता बनेका हुन्।

त्यस्तै, थप १५ जना उपभोक्ताले जनही एक लाख रुपैयाँ पुरस्कार जितेका छन्। विभागका अनुसार विजेताहरूलाई कर कटाएर प्रतिव्यक्ति १ लाख रुपैयाँ उपलब्ध गराइनेछ।

उपहार योजनामा पछिल्लो समय उपभोक्ताको सहभागिता उल्लेख्य रूपमा बढेको विभागले जनाएको छ। साउन १६ देखि ३१ गतेसम्म मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल उपहार योजनाका लागि अपलोड भएका थिए। साउनको पहिलो १५ दिनमा यस्तो बिलको संख्या ७ हजार ७७ मात्रै थियो।

यस्तै, क्यूआर कारोबारमार्फत स्वतः उपहार योजनामा सहभागी हुने कारोबारको संख्या पनि बढेको छ। पहिलो १५ दिनमा २ करोड ५६ लाख ८ हजार ९४ रहेको यस्तो कारोबार पछिल्लो अवधिमा बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको विभागले जनाएको छ।

पछिल्लो १६ दिनमा उपहार योजनामा सहभागी कुल कारोबार संख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ। यही कारोबारबाट १६ जना विजेता छनोट गरिएको विभागले जनाएको छ।

विजेतामध्ये साउन १६ देखि ३१ गतेसम्मको अवधिका लागि छनोट भएकाहरूले करसहित १ लाख ३३ हजार ३३४ रुपैयाँ बराबरको पुरस्कार पाएका छन् भने कर कटाएर उनीहरूको हातमा १ लाख रुपैयाँ पर्नेछ।