काठमाण्डु– सरकारका मन्त्रीहरू पछिल्लो समय विभिन्न जिल्लामा पुग्ने क्रम बढिरहेका बेला सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसद पारसमणि गेलालले यस्तो गतिविधिको औचित्यमाथि प्रश्न उठाएका छन् ।
सोमबार प्रतिनिधिसभाको सून्य समयमा बोल्दै उनले मन्त्रीको जिल्ला उपस्थितिभन्दा मन्त्रालयबाट हुने कामको प्रभाव नागरिकले महसुस गर्नुपर्ने बताए । सामाजिक सञ्जालमा भ्रमणका दृश्य सार्वजनिक गर्दैमा सरकारप्रतिको जनअपेक्षा पूरा नहुने गेलालको भनाइ छ ।
‘मन्त्रीज्यूहरू तपाईंहरूका भिडियो र प्रचारले जनता खुसी हुँदैनन् । जनताको घर घरमा मन्त्री पुग्ने होइन’, उनले भने, ‘ सरकारका कारण समस्या समाधान भएको अनुभूति पुग्नुपर्छ ।’
गेलालले मन्त्रीहरूलाई आफ्नो जिम्मेवारीको मूल केन्द्र नछाड्न सुझाव दिए । मन्त्रालयको नेतृत्व गर्ने व्यक्तिले कार्यालयमै बसेर आवश्यक निर्णय लिने, नीति निर्माण गर्ने तथा मातहतका कर्मचारीलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने उनले बताए ।
‘माननीय मन्त्रीज्यूहरूलाई प्रश्न छ, तपाईंहरूलाई देश घुम्ने रहर हो कि, समस्या समाधान गर्ने हुटहुटी ?’ उनले भने, ‘बिदामा घुम्न गएजस्तो गर्नुभन्दा मन्त्रालयमा बस्नुस् । नीति बनाउनुस्, निर्णय गर्नुस्, कर्मचारीको मनोबल उच्च बनाउनुस् ।’
देशका विभिन्न भूगोलमा रहेका समस्या सरकारसम्म पुर्याउने काम सांसदहरूले गर्न सक्ने उनको भनाइ छ । १६५ निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरू नै स्थानीय समस्याबारे प्रत्यक्ष जानकारी राख्ने भएकाले त्यसका लागि राज्यकोषबाट ठूलो संख्यामा सल्लाहकार थपिरहन आवश्यक नरहेको गेलालले बताए ।
गेलालले सरकारको ध्यान अहिले सर्वसाधारणले भोगिरहेका अत्यावश्यक कठिनाइतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले खाना पकाउने ग्यासदेखि कृषि सामग्री, सञ्चार, बिजुली र सामान्य उपचार सेवासम्म नागरिकले भोगिरहेको अभावलाई प्राथमिकतामा राखेर काम गर्न सरकारको ध्यानाकर्षण गराए ।
त्यसक्रममा उनले मन्त्री र आमनागरिकले पाउने सरकारी सुविधा तथा सेवाबीच रहेको अन्तरसमेत औँल्याए ।
‘मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकप्टर उपलब्ध हुन्छ । तर जनता मर्न लाग्दा अस्पताल पुग्ने साधन हुँदैन । अस्पतालमा डाक्टर हुँदैनन्’ उनले भने ।
उनको यो टिप्पणी पूर्वाधारमन्त्री सुनील लम्सालको पछिल्लो स्वास्थ्य समस्याको घटनासँग जोडिएको छ । सुदूरपश्चिमका विभिन्न जिल्लामा सडक तथा पूर्वाधारको अवस्थाबारे स्थलगत निरीक्षणमा रहेका लम्साल बैतडीमा अस्वस्थ भएपछि सेनाको स्काइ ट्रकमार्फत काठमाण्डु आएका थिए ।
लम्साललाई हेलिकप्टरबाट धनगढी पुर्याइएपछि नेपाली सेनाको स्काइट्रकमाफर्त काठमाण्डु ल्याइएको थियो । उपचारपछि उनी अस्पतालबाट घर फर्किसकेका छन् ।




प्रतिक्रिया