हर्क साम्पाङले भने: नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टम लागू गरौँ

हर्क साम्पाङले भने: नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टम लागू गरौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाल–भारतबीचको खुला सीमा व्यवस्थालाई पुनर्विचार गर्नुपर्ने प्रस्ताव प्रतिनिधिसभामा राखेका छन् ।


सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दुई देशबीच आवतजावत गर्ने नागरिकको विवरण राज्यसँग रहने गरी भिसा प्रणाली लागू गर्नुपर्ने बताएका छन् ।

साम्पाङले खुला सीमाका कारण नेपालमा कति भारतीय र भारतमा कति नेपाली बसोबास गरिरहेका छन् भन्ने यकिन तथ्यांक राख्नसमेत कठिन भइरहेको बताए ।

सीमामा प्रवेश र निकासलाई व्यवस्थित गरे मात्रै नागरिकको वास्तविक विवरण संकलन गर्न सकिने उनको तर्क छ ।

‘भारत र नेपालबीचको खुला सीमा राख्न हुँदैन । भिसा सिस्टम बनाऔँ, सील गरौँ’, उनले भने, ‘ताकी थाहा होस् कति नेपाली भारत गएर बसिरहेका छन्, कति लाख भारतीय नेपालमा आएर बसिरहेका छन् ।’

साम्पाङले खुला सीमालाई अपराध नियन्त्रणको विषयसँग पनि जोडेका छन् । उनका अनुसार सीमा क्षेत्रमा पर्याप्त निगरानी र आवागमनको अभिलेख नहुँदा मानव बेचबिखनलगायतका गैरकानुनी गतिविधि नियन्त्रण गर्न चुनौती हुने गरेको छ ।

उनले नेपाल–भारत सीमा अन्य देशको तुलनामा असामान्य रूपमा खुला रहेको दाबी गर्दै सीमा व्यवस्थापनमा नयाँ व्यवस्था आवश्यक रहेको तर्क गरे ।

‘दुनियाँमा कतै नभएको भारत र नेपालको सिमाना चाहिँ खुला हुनुपर्ने ? यसलाई पनि हामीले बन्द गर्नुपर्छ, भिसा सिस्टम लागू गर्नुपर्छ । र रेकर्ड राख्नुपर्छ,’ उनले भने ।

साम्पाङको प्रस्तावअनुसार दुई देशका नागरिकको आवतजावतलाई खुला छाड्नुको सट्टा औपचारिक प्रक्रियामार्फत नियमन गर्नुपर्नेछ। यसबाट सीमा पार गर्ने व्यक्तिको विवरण सरकारसँग रहने र गैरकानुनी गतिविधिमाथि निगरानी बढाउन सकिने उनको दाबी छ।