आज ३० जिल्लामा बाढीको जोखिम, ११ सडक खण्ड पूर्णरुपमा अवरुद्ध

आज ३० जिल्लामा बाढीको जोखिम, ११ सडक खण्ड पूर्णरुपमा अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आज ३० जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिन अनुसार काठमाण्डुसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको जनाएको हो ।

आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक भई बहने स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने सम्भावना देखिएको छ।

त्यसतै रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, जुम्ला, सुर्खेत, दैलेख, दाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर आसपासका स(साना नदीमा पनि बहाव बढ्ने र आकस्मिक बाढी आउने मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

महाकाली, कोशी, नारायणी, बागमती, कर्णाली र यिनका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव हाल सतर्कता तहभन्दा तलै छ।

यस्तै, आज एक दर्जन सडकखण्ड अवरुद्ध बनेका छन् । नेपाल प्रहरीको विवरण अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका ११ सडक खण्डहरू पूर्णरुपमा अवरुद्ध रहेका हुन् ।

मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली खण्ड, मध्य पहाडी लोकमार्गको भोजपुर खण्ड, बीपी राजमार्ग, कान्ति लोकपथ रातिको समयमा, अरनिको राजमार्ग भोटेकोशीको कोदारी र लिपिङ क्षेत्र, त्रिशूली-मैलुङ-स्याफ्रुबेसी सडक पूर्णरुपमा अवरुद्ध बनेका छन् ।

यता गण्डकी प्रदेश अन्तर्गत बेसीसहर-मनाङ सडक, जोमसोम-कोराला सडक, कालीगण्डकी कोरिडोर , बागलुङ-बेनी सडक कर्णाली प्रदेशका जाजरकोट-डोल्पा सडक, भेरी कोरिडोर र नाग्म-गमगडी सडक पूर्णरुपमा अवरुद्ध बनेको नेपाल प्रहरीले जनाएको छ ।