काठमाण्डु– विश्व फुटबल महासंघ (फिफा)ले प्रमुख सञ्चालन अधिकृत (सीओओ) केभिन लामोरलाई बर्खास्त गरेको छ ।
फिफाका प्रवक्ताले लामोरसँगको कार्यसम्बन्ध १७ अगस्ट २०२६ देखि अन्त्य भएको पुष्टि गरेका छन्।
फिफाले लामोरले दुई वर्षसम्म दिएको सेवाका लागि धन्यवाद दिँदै उनको आगामी भविष्यका लागि शुभकामना दिएको छ।
फिफाका महासचिव म्याटियास ग्राफस्ट्रोमले सोमबार साँझ कर्मचारीलाई इमेल पठाउँदै फिफा र लामोरबीच आपसी सहमतिमा अलग हुने निर्णय भएको जानकारी गराएका थिए।
गत महिना लामोरले विवादित फिफा फवार्ड इन्टरप्राइज (एफएफई) योजनाको खुलेर आलोचना गरेका थिए। उनले उक्त योजनालाई ‘एक व्यक्तिको परियोजना’ भन्दै फुटबलका राजनीतिक नेतृत्वले सही प्रश्न सोधेर सही निर्णय लिनुपर्ने बताएका थिए।
लामोरले उक्त परियोजनाबारे फिफाको प्रशासनलाई समेत भ्रममा पारिएको दाबी गरेका थिए। उनले फिफाको उद्देश्य फुटबलको सेवा गर्नु रहेको भन्दै संस्थाको नेतृत्वले कर्मचारीलाई एकताबद्ध र प्रेरित गर्नुपर्ने बताएका थिए।
लामोर नोभेम्बर २०२४ मा फिफामा आबद्ध भएका थिए। त्यसअघि उनी युरोपेली फुटबल महासंघ (यूईएफए)ं का उपमहासचिव थिए।
यसै महिनाको सुरुवातमा मोरक्कोमा भएको बैठकमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोले वरिष्ठ कार्यकारीहरूको समर्थन पाएका थिए। तर बीबीसी स्पोर्टका अनुसार उक्त बैठकमा लामोरलाई भने आमन्त्रण गरिएको थिएन।
लामोरसँग पछिल्लो घटनाबारे प्रतिक्रिया मागिएको छ।




प्रतिक्रिया