काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद भरत पराजुली प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को बचाउमा उत्रिएका छन् ।
मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीले रातदिन जनताको पक्षमा काम गरिरहेको भए पनि आलोचना बढेको भन्दै आपत्ति जनाए ।
‘केही गर्छु’ भनेर अघि बढ्ने व्यक्तिमाथि प्रश्न र आलोचना स्वाभाविक रूपमा धेरै हुने तर्क उनको थियो । उनले प्रधानमन्त्री देशको मुहार परिवर्तन गर्ने लक्ष्यसहित निरन्तर काममा जुटिरहेको दाबी गरे ।
सरकारको कामकारबाहीमाथि उठिरहेका प्रश्नलाई उनले सकारात्मक ढंगले हेर्न आग्रह गरे । काम नगर्नेभन्दा काम गर्न खोज्ने नेतृत्वमाथि नै बढी आलोचना हुने उनको भनाइ थियो ।
पराजुलीले मन्त्री सुनिल लम्सालको कार्यशैलीको समेत बचाउ गरे । जनताका समस्या प्रत्यक्ष बुझ्न मन्त्री लम्साल आफैँ गाडी चलाएर विभिन्न ठाउँमा पुगिरहेको भन्दै उनले त्यसलाई प्रचारका लागि गरिएको भ्रमणका रूपमा नबुझ्न आग्रह गरे ।
‘प्रधानमन्त्रीज्यू देशको मुहार फेर्छु भनेर अहोरात्र खटिराख्नुभएको छ । निरन्तर काम गर्दा उहाँकै आलोचना हुन्छ,’ उनले भने, ‘मन्त्री सुनिल लम्साल देशभर आफैँ गाडी चलाएर पुग्नुभएको छ । जनताको समस्या बुझ्नको लागि, उहाँ कुनै रिबन काट्न जानुभएको होइन ।’
सरकारका गलत निर्णय र कामको आलोचना गर्न विपक्षी दल स्वतन्त्र रहेको उनले बताए । तर, जनताको हितमा भइरहेका काममा भने सरकारले अघि सारेका प्रयासलाई सहयोग गर्नुपर्ने उनको आग्रह थियो ।
उनले विपक्षी दलहरूलाई सरकारका राम्रा काममा साथ दिन र गलत कामको मात्रै विरोध गर्न पनि आग्रह गरे ।




प्रतिक्रिया