काठमाण्डु – नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा लुटिएका हतियारहरू तिब्बती गुम्बामा लुकाइएको आशंका रहेको दाबी गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेता थापाले भने, ‘निर्वासित तिब्बतीहरूलाई नेपालले मानवीय आधारमा शरण दिएको हो, राजनीतिक शरणार्थीको रूपमा मान्यता दिएको छैन ।’
सरकारले दलाइ लामाको जन्मदिन मनाउने नाममा खुलेआम चलखेल गर्न दिएको उनले आरोप लगाए । नेपालमा बढिरहेको तिब्बती गतिविधिप्रति चीनले आपत्ति प्रकट गरेको स्मरण गराउँदै उनले भने, ‘नेपाली भूमि दोस्रो खम्पा विद्रोहका लागि दिन सक्दैनौँ । हामी नेपाललाई युक्रेन बन्न दिन सक्दैनौँ । यस्तै रहने हो भने शरणार्थी शिविर बन्द गरी स्थानान्तरण गरिनुपर्छ ।’
उनले वालेन्द्र सरकारको छोटो शासनकालमा लोकतन्त्रमाथि गम्भीर संकट र प्रश्न खडा भएको आरोप लगाए । ‘सरकारको विदेश नीति र राष्ट्रिय सुरक्षा नीतिमा विचलन देखिएको छ,’ उनले भने ।




प्रतिक्रिया