काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सरकारमा मन्त्री फेर्ने कुनै तयारी नरहेको स्पष्ट पारेका छन् ।
पार्टी बैठकपछि बुधबार सिंहदरबारमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले मन्त्री फेर्नेबारे कुनै छलफल पनि नभएको जानकारी दिए ।
उनले भने, ‘कुनै मन्त्री फेर्ने तयारी छैन, कुनै छलफल पनि छैन । कुनै पनि मन्त्रालय, मन्त्रीहरूले सय वटा काम गर्नुभएको छ भने १, २, ५ काममा प्रश्न आउनु स्वाभाविक हो, त्यसलाई पार्टीले अस्वाभाविक लिँदैन ।’
मन्त्रीहरूको कामकारबाहीका विषयमा पार्टीभित्र छलफल भए पनि त्यसलाई मन्त्री परिवर्तनसँग जोडेर हेर्न नहुने उनले बताए । मन्त्रीहरूको काममा प्रश्न उठ्दैमा हटाउने वा फेरबदल गर्ने निष्कर्षमा पार्टी नपुगेको उनले बताए ।
मन्त्रीहरूको कार्यसम्पादनबारे पार्टीभित्र प्रश्न उठाउने र आवश्यक छलफल गर्ने प्रक्रिया नियमित रहेको उनले बताए । ‘रास्वपा सरकारमा सहभागी भएको भए पनि आफ्नै दलका मन्त्री तथा सरकारका कामकारबाहीप्रति प्रश्न गर्न पार्टीले छाडेको छैन,’ उनले भने ।
सरकारमा रहेका मन्त्रीका कामकारबाही, मन्त्रालयका गतिविधि तथा देखिएका समस्याबारे छलफल गरेर आवश्यक सुधार गर्ने उद्देश्यले पार्टीले बैठक राखेको उनले बताए ।
उनले भने, ‘रास्वपाभित्र आफ्नै दल भए तापनि हामी प्रश्न सोध्दै आएका छौं । यसैलाई सम्बोधन गर्न हामीले छलफल राखेका हौं । कुनै मन्त्री फेर्ने तयारी पनि छैन । कुनै छलफल पनि छैन ।’
पार्टीले मन्त्रीहरूको कामको समीक्षा र आवश्यक सुझाव दिने भए पनि त्यसलाई तत्काल मन्त्री परिवर्तन गर्ने प्रक्रियाका रूपमा बुझ्न नहुने उनले बताए । सरकारको प्रभावकारिता बढाउने तथा देखिएका समस्या समाधान गर्ने उद्देश्यले पार्टीभित्र छलफल भइरहेको उनले बताए ।




प्रतिक्रिया