बंगलादेशमा आज ३५ वर्षपछि पहिलो पटक राष्ट्रपति निर्वाचन हुँदै

बंगलादेशमा आज ३५ वर्षपछि पहिलो पटक राष्ट्रपति निर्वाचन हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बंगलादेशमा ३५ वर्षपछि पहिलो पटक बिहीबार राष्ट्रपति पदका लागि प्रतिस्पर्धात्मक मतदान हुँदैछ। देशको २३ औँ राष्ट्रपति चयनका लागि जातीय संसद् (संसद् भवन) मा दिउँसो सांसदहरूले मतदान गर्दै छन् ।

यस निर्वाचनमा सत्तारूढ बंगलादेश नेसनल पार्टी (बिएनपी)का मिर्जा फखरुल इस्लाम आलमगीर र जमात–ए–इस्लामी नेतृत्वको ११ दलीय गठबन्धनका (अवकाशप्राप्त) कर्नेल ओली अहमद चुनावी मैदानमा छन्।

संसद्का कुल ३५० सिटमध्ये चट्टोग्राम-४ खाली रहेकाले हाल ३४९ जना सांसद मतदाता रहेका छन्। संसद्‌मा २४७ सिटसहित बहुमतमा रहेको बिएनपीका उम्मेदवार आलमगीरको जित्ने सम्भावना बलियो मानिएको छ।

यस निर्वाचनमा सांसदहरूले सेतो कागजमा छापिएको मतपत्रमा हस्ताक्षर गरी तीनवटा पारदर्शी मतपेटिकामा भोट हाल्नेछन्। यो प्रक्रिया गोप्य नभई खुला मतदान हुनेछ। संविधानको धारा ७० र खुला मतदान प्रक्रियाबिच भइरहेको यस निर्वाचनको मतगणना मतदान सकिनेबित्तिकै सुरु हुनेछ।

प्रमुख निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनका अनुसार बिहीबार नै नतिजा घोषणा गरी आधिकारिक राजपत्र प्रकाशित गर्ने कार्यतालिका रहेको छ। नवनिर्वाचित राष्ट्रपतिले शुक्रबार साँझ शपथ ग्रहण गर्नेछन्। गत जुलाई २४ मा २२ औँ राष्ट्रपति मोहम्मद शहाबुद्दिनले राजीनामा दिएपछि यो पद खाली भएको थियो। हाल सभामुख हाफिज उद्दिन अहमदले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेका छन्।

बंगलादेशमा संसदीय व्यवस्थाको पुनर्जागरण भएपछि सन् १९९१ यता राष्ट्रपति निर्वाचन निर्विरोध हुँदै आएको थियो। सन् १९९१ मा बिएनपीका अब्दुर रहमान विश्वास र अवामी लिगका बदरुल हैदर चौधरीबिच प्रतिस्पर्धात्मक चुनाव भएको थियो। त्यसपछि पहिलो पटक यसपालि दुवै उम्मेदवारले नाम फिर्ता नलिँदा मतदानको स्थिति बनेको हो।