काठमाण्डु– रुसले रातभर गरेको क्षेप्यास्त्र आक्रमणमा युक्रेनको राजधानी किभ र आसपासको क्षेत्रमा कम्तीमा पाँच जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
युक्रेनको राज्य आपत्कालीन सेवाका अनुसार बिहीबार भएको ‘ठूलो आक्रमण’मा अपार्टमेन्ट भवन र गोदामहरूलाई निशाना बनाइएको थियो। आक्रमणमा कम्तीमा २३ जना घाइते भएका छन्।
ध्वस्त भएका भवनको भग्नावशेषमा फसेकाहरूको उद्धारका लागि उद्धार टोली परिचालित छन्। उद्धारकर्मीहरूले भग्नावशेषबाट एक जनालाई जीवितै बाहिर निकालेका छन्।
यसैबीच, रोमानियाले युक्रेनसँगको उत्तरी सीमाबाट एउटा ड्रोन आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको जनाएको छ। ड्रोन प्रवेश गरेपछि हवाई आक्रमणको चेतावनी दिने साइरन बजाइएको थियो।
रोमानियाको रक्षा मन्त्रालयका अनुसार बिहीबार बिहान एउटा ड्रोन गालाती सहरबाट करिब १३ किलोमिटर पूर्वतर्फ रहेको रोमानियाली हवाई क्षेत्रमा प्रवेश गरेको थियो।
उक्त ड्रोन ‘मानव बस्ती नभएको क्षेत्रमा’ खसेको र त्यसबाट सामान्य आगलागी भए पनि तत्काल नियन्त्रणमा लिइएको मन्त्रालयले जनाएको छ। घटनामा कुनै मानवीय क्षति वा भौतिक क्षति नभएको र प्रारम्भिक हवाई चेतावनी हटाइएको मन्त्रालयले जनाएको छ।
यता, पोल्यान्डको सेनाले आफ्नो हवाई क्षेत्रको सुरक्षाका लागि ‘रक्षात्मक हवाई कारबाही’ सुरु गरेको जनाएको छ। पोल्यान्डको दक्षिण–पूर्वी सीमा युक्रेनसँग जोडिएको छ।
किभका मेयर भिताली क्लिच्कोले रातभर भएको आक्रमणमा बाल अस्पतालसमेत क्षतिग्रस्त भएको बताएका छन्। अस्पतालका झ्यालहरू फुटेका छन् भने आसपासका केही सवारीसाधनमा आगलागी भएको उनले बताए।
किभको दक्षिण–पश्चिममा रहेको सोलोम्यान्स्की जिल्लाको एक औद्योगिक केन्द्रमा पनि क्षेप्यास्त्र प्रहार भएको मेयर क्लिच्कोले बताएका छन्।
किभ क्षेत्रको ब्रोभारी जिल्लामा भएको आक्रमणमा एक पुरुषको मृत्यु भएको र अर्का एक जना घाइते भएको क्षेत्रीय गभर्नर तिमुर त्काचेन्कोले बताएका छन्।
क्षेत्रीय प्रशासनले यसअघि नै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा आश्रय लिन आग्रह गर्दै चेतावनी जारी गरेको थियो। प्रशासनले क्षेत्रमा हवाई प्रतिरक्षा कारबाही हुनसक्ने जनाएको थियो।
युक्रेनी वायुसेनाको चेतावनीलाई आधार बनाउँदै क्षेत्रीय अधिकारीहरूले थप क्षेप्यास्त्र आक्रमणको चेतावनीसमेत जारी गरेका थिए।
रुसी हवाई आक्रमणका कारण रातभर किभ क्षेत्रका हजारौँ घर तथा संरचनामा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। आक्रमणबाट क्षतिग्रस्त ऊर्जा संरचना मर्मत गर्न प्राविधिक टोली परिचालित भएका छन्। बीबीसी




प्रतिक्रिया