काठमाण्डु– राप्रपाका पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले घरभाडाबाट हुने आम्दानीमा कर छुट नदिएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आलोचना गरेका छन् ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत १० लाख रुपैयाँसम्मको आयमा कर छुट दिने व्यवस्था गरेको भए पनि घरभाडाबाट प्राप्त हुने आम्दानीमा उक्त छुट लागू नभएको भन्दै मिश्रले आपत्ति जनाएका हुन् ।
सामाजिक सुञ्जालमार्फत उनले घरभाडा कर बुझाउन जाँदा आफूलाई आयकर छुट नदिएको भन्दै आपत्ति जनाएका छन् । घरभाडा मात्रै आम्दानीको स्रोत भएका र अन्य कुनै आय नभएका आफूजस्ता धेरै व्यक्ति रहेको उल्लेख गर्दै उनले त्यस्ता करदातालाई छुटबाट वञ्चित गर्नुको कारण माग गरेका छन् ।
‘यो त अति भयो अर्थमन्त्रीज्यू । ‘घर भाडाको आय, आयकर छुटमा किन नपरेको ?’, उनको प्रश्न छ ।
बजेटमा घोषणा गरिएको व्यवस्था कार्यान्वयनका फरक देखिएको भन्दै उनले आपत्ति जनाए । विगतमा वर्षमा पनि यस्तै समस्या देखिएको उल्लेख गर्दै यसपटक भने आफूले सार्वजनिक रूपमा विषय उठाउने निर्णय गरेको उनले बताएका छन् ।
मिश्रले घरभाडा आयमा कर छुटको व्यवस्था लागू हुने गरी आवश्यक संशोधन गर्न अर्थमन्त्री वाग्लेसँग आग्रह गरेका छन् । विद्यमान व्यवस्था कायम रहे इमानदार रूपमा कर तिर्ने नागरिकलाई ठूलो मर्का पर्ने उनको भनाइ छ ।
‘कसरी, के संशोधन गरेर मिलाउनु पर्ने हो, मिलाउनु पर्यो । नत्र धेरै इमानदार करदातालाई ठूलो मर्का पर्ने देखियो,’ उनले लेखेका छन् ।




प्रतिक्रिया