काठमाण्डु– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ इलेक्ट्रिक एसयूभीलाई ३५.९९ लाखको विशेष प्रारम्भिक मूल्यमा सार्वजनिक गरेको छ।
उक्त मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागू हुनेछ। त्यसपछि भिगो ई२ को नियमित मूल्य ३७.९९ लाख कायम हुने कम्पनीले जनाएको छ।
थप प्रिमियम फिचर्स चाहने ग्राहकका लागि कम्पनीले भिगो ई२ प्लस पनि उपलब्ध गराएको छ। ई२ प्लसका लागि थप ८ लाख तिर्नुपर्नेछ भने यसमा मुनरुफ र आर१८ टायर उपलब्ध छन्।
कम्पनीका अनुसार भिगो ई२ लाई सहरको दैनिक आवतजावतदेखि पारिवारिक यात्रा तथा लामो दूरीको यात्रालाई लक्षित गरी तयार गरिएको हो। यसमा ५ जना सहजै बस्न मिल्ने फराकिलो क्याबिन, २,७१५ एमएम ह्विलबेस र ५७२ लिटरको बुट स्पेस रहेको छ।
भिगो ई२ मा हिटेड तथा भेन्टिलेटेड सिट, मेमोरी सिट, एक्सटेरियर स्पिकर, ‘हेभन एन्ड अर्थ टेलगेट’ तथा डीजेआई–सञ्चालित एडीएएसजस्ता फिचर्स उपलब्ध छन्।
विद्युतीय सवारीतर्फ यसको ५१.८७ किलोवाट–आवर ब्याट्री र ९९ किलोवाट मोटर रहेको छ। कम्पनीका अनुसार यसले डब्लूएलटीपी मापदण्डअनुसार ३५० किलोमिटरसम्मको रेन्ज दिन्छ। त्यस्तै, १९० एमएम ग्राउन्ड क्लियरेन्स र १६७ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट रहेको छ।
कम्पनीले भिगोको क्षमता नेपालका विभिन्न भूगोलमा समेत परीक्षण भइसकेको दाबी गरेको छ। हाल नेपालभर २ हजारभन्दा बढी नामी गाडी सञ्चालनमा रहेको र भिगोले मनाङ, मुस्ताङ, शुक्लाफाँटा तथा सल्लेरीलगायतका क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गरिसकेको जनाएको छ।
सार्वजनिक कार्यक्रममा एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले भिगो ई२ को संशोधित मूल्यले नयाँ राष्ट्रिय बजेटको सकारात्मक प्रभाव प्रतिबिम्बित गरेको बताए। उनले फिचर्सलाई आवश्यकताअनुसार समायोजन गर्दै भिगोको स्पेस, क्षमता र एसयूभी अनुभवलाई थप नेपाली ग्राहकको पहुँचमा पुर्याइएको बताए।
ग्राहकले एमएडब्लू वृद्धिका शोरुम तथा नाडा अटो शोमा रहेको नामीको स्टलबाट भिगो ई२ को अवलोकन तथा बुकिङ गर्न सक्नेछन्। विशेष ३५.९९ लाखको मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ।




प्रतिक्रिया