काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गर्ने भनेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम बिहीबारदेखि सुरु हुँदैछ ।
सरकारमा रहेका मन्त्रीलाई पार्टी कार्यालयमा उपस्थित गराउँदै नागरिक र नेता–कार्यकर्तासँग प्रत्यक्ष संवाद गराउने कार्यक्रम रहेको छ । यसका लागि बिहीबार रास्वपा उपसभापति समेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पार्टी कार्यालय चमती जाँदै छन् ।
‘पहिलो चरणमा आमनागरिकले आफ्ना गुनासा, समस्या, सुझाव तथा अपेक्षा प्रत्यक्ष रूपमा अर्थमन्त्रीसमक्ष राख्न सक्नेछन् । दोस्रो चरणमा मन्त्री, सांसद तथा केन्द्रीय नेतृत्वबीच नागरिकबाट प्राप्त सुझावसँगै समसामयिक तथा नीतिगत विषयमा छलफल गरिनेछ’, रास्वपाले भनेको छ ।
साँझ ५ बजेदेखि ६ बजेसम्म नागरिक संवादका लागि छुट्याएको रास्वपाले एक घण्टा नेता तथा सांसदहरूसँगको संवादका लागि तोकेको छ । यो कार्यक्रमलाई रास्वपाले नागरिकका आवाज, सुझाव र अपेक्षालाई सरकार तथा पार्टीको नीति निर्माण र प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले सञ्चालन गर्न लागेको जनाएको छ ।
कार्यक्रममा सम्बन्धित सबैको सक्रिय सहभागिता र सहजीकरणका लागि रास्वपाले भनेको छ । तर, कति नागरिक उपस्थिति हुँदा संवाद सम्भव हुन्छ र को–को उपस्थितिका लागि आमन्त्रित भनेर खुलाइएको छैन ।





प्रतिक्रिया