काठमाण्डु– अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रधानमन्त्री कार्यालयमा आफूसहित आयोग पदाधिकारी र कर्मचारीलाई ७ घण्टासम्म थुनिएको भन्ने विषयमा जवाफ दिएका छन् ।
बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उपस्थित राईलाई सांसदहरुले प्रधानमन्त्री कार्यालयमा ७ घण्टा थुनेर अमुक व्यक्तिविरुद्ध मुद्धा चलाउन दबाब दिएको भन्ने विषयमा जवाफ मागेका थिए ।
जवाफमा राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नै आफूहरुलाई छफलमा बोलाएको बताए । राईले प्रधानमन्त्रीले अख्तियार पदाधिकारीलाई बोलाएर छलफल गर्न सक्ने दाबी गरे ।
प्रधानमन्त्रीले बोलाएपछि आफूहरु गएको र पासपोर्ट छपाइको विषयमा छलफल भएको राईले उल्लेख गरे ।
‘पासपोर्टको विषयवस्तुमा प्रधानमन्त्रीज्यूले बोलाउनुभएको हो । छलफल गर्न बोलाउन सकिन्छ । सुझाव लिन बोलाउन सकिन्छ । त्यो विषयमा के भएको हो भनेर, तपाईंहरूले के गरिराख्नुभएको छ भनेर बोलाउन सकिन्छ’, राईले भने ।
राईले प्रधानमन्त्रीले पासपोर्ट प्रकरणमा मुद्दा अघि बढाउन भनेको र आफूहरुले त्यहीअनुसार मुद्धा चलाएको राईले स्वीकार गरे ।
‘हामी गयौं । छलफल गर्यौं । यसलाई लगिदिए हुन्थ्यो, तीव्रता दिइदिए हुन्थ्यो भन्नुभयो । हामीले गर्यौं । हामीले मुद्दा पनि लग्यौं’, राईले भने, ‘मुद्दा दर्ता भइसकेको छ । अभियोजन भइसकेको हुनाले वेबसाइटमै हेर्न पाइन्छ, हेरे हुन्छ । अभियोजन ठिक थियो कि थिएन ? कैफियत छ कि छैन ? कति छ ? भन्ने कुरा हेरे हुन्छ ।’
यति भनेपछि राईले आफू उक्त विषयमा योभन्दा थप बोल्न नचाहेको बताए ।




प्रतिक्रिया