काठमाण्डु – देशभर शनिबार मौसममा बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ भने हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा तथा मधेश र कोशी प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णाली प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने जनाएको छ ।
राति पनि देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा तथा लुम्बिनीका केही र कर्णाली तथा सुदूरपश्चिमका थोरै हिमाली भू–भागमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने अनुमान गरिएको छ । तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा भारी वर्षा तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ ।
यसबीच विभागले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सिन्धुपाल्चोकको दुवाचौर मौसम मापन केन्द्रमा सबैभन्दा धेरै १९.६ मिलिमिटर वर्षा मापन गरिएको छ ।
वर्षा जारी रहेका क्षेत्रहरूमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विभागले आवश्यक सावधानी अपनाउन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।




प्रतिक्रिया