काठमाण्डु– त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको तत्कालीन आवश्यकता पूरा गर्न युरोपियन युनियन (ईयू) ले नेपाललाई २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ ।
ईयूले शनिबार जारी गरेको विज्ञप्तिअनुसार उक्त सहायता बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी, सरसफाइ र आश्रयलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउन प्रयोग गरिनेछ ।
ईयूको सहयोगमा काम गरिरहेका साझेदार संस्थाहरूले प्रभावित क्षेत्रमा राहत सामग्री वितरण सुरु गरिसकेका छन् । उनीहरूले विपद् पूर्वतयारीका क्रममा भण्डारण गरिएका आश्रय तथा राहत सामग्रीसमेत प्रभावित समुदायमा पुर्याइरहेका छन् ।
ईयूका अनुसार अहिले उपलब्ध गराउन लागिएको २० लाख युरो यस वर्षको सुरुआतमा नेपालमा विपद् पूर्वतयारीका लागि छुट्याइएको करिब ३० लाख युरो मानवीय सहायताभन्दा अतिरिक्त हो ।
बाढीबाट विशेषगरी त्रिशूली नदी आसपासका बस्तीमा ठूलो क्षति पुगेको छ । सडक तथा अन्य भौतिक संरचनामा क्षति पुगेका कारण कतिपय बस्ती सम्पर्कविहीन बनेका छन् भने प्रभावित परिवारहरू आफन्तको खोजीमा छन् ।
बाढीपछिको प्रतिकार्य समन्वयका लागि ईयूले एसियाका लागि ‘र्यापिड रेस्पोन्स कोअर्डिनेटर’ समेत परिचालन गर्ने जनाएको छ । प्रभावित क्षेत्रको अवस्था पहिचान गर्न तथा स्थानीय प्रतिकार्यमा सहयोग पुर्याउन ‘कोपरनिकस’ भू–उपग्रह सेवा पनि सक्रिय गरिएको ईयूले जनाएको छ ।
ईयू कमिस्नर फर प्रिपेयर्डनेस एन्ड क्राइसिस म्यानेजमेन्ट हाड्जा लाहबिबले पछिल्लो बाढीले यसअघि नै अन्य विपद्बाट प्रभावित भई पुनर्निर्माणको क्रममा रहेका समुदायलाई थप संकटमा पारेको बताएकी छन् ।
उनले प्रभावित समुदायलाई तत्काल आवश्यक स्वास्थ्य सेवा, खाद्यान्न, खानेपानी र आश्रय उपलब्ध गराउन ईयूले २० लाख युरो सहायता उपलब्ध गराएको जानकारी दिएकी छन् ।




प्रतिक्रिया